काठमाडौँ । विश्वमा महिलालाई पुरुषसरह श्रमको ज्याला र मतदान अधिकारको मागलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको ५० वर्ष लागेको छ ।
महिलाको श्रमको समान कदर विश्वव्यापी रुपमै हुन नसकेको अवस्थामा यो वर्षदेखि महिलामा लगानीको नयाँ क्षेत्रको खोजी थालिएको हो ।
सन् १९०८ मा सुरु भएको महिला आन्दोलनले झण्डै ७० वर्षपछि सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घमार्फत मान्यता प्राप्त गरेको थियो । सोही दिन अर्थात ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस मानिएको हो ।
विगतका दुःखकष्टलाई उत्सवका रुपमा मनाउदै भविष्यको योजना बनाउने पहिलो दिवसको नारालाई सार्थकता दिन हरेक वर्ष फरक नारासाथ दिवस मनाइने गरिन्छ ।
यो वर्षको नारा महिलामा लगानी, प्रगतिलाई गति रहेको छ । सङ्घका महासचिव एन्टोनियो गुटरेसको परिकल्पनागत नारालाई व्यवहारमा उतार्न नेपालका सरोकारवालाले महिलामा लगानीका क्षेत्रको पहिचान गर्नुपर्ने बताएका छन् ।
विश्वका महिलाको कमजोर हैसियतको छायाँ नेपाली महिलामा पनि उस्तै रहेको महसुस विज्ञ तथा महिला नेतृहरुले गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयले एक समीक्षात्मक बहसको आयोजना गरी अवसरका क्षेत्र पहिचानको प्रावधान अघि सारेको छ ।
सो बहसका सहभागीले अब महिलासम्वद्ध विभिन्न क्षेत्रमा लगानीको अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय महिलाको नेपालका लागि प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले विश्वका विभिन्न भागमा भइरहेका युद्ध र द्वन्द्वका कारण महिलाको अवस्था नाजुक बन्दै गइरहेको औँल्याउनुभयो ।
नेपालमा भने अबका दिनमा महिलाको अवस्थालाई सम्बोधन हुनेगरी आर्थिक लगानी गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनगणनाका अनुसार नेपालको कुल जनसङ्ख्याको ५१.१ प्रतिशत महिलाको जनसङ्ख्या छ । कृषिमा रहेको ६० प्रतिशत जनसंख्यामा ९० प्रतिशत श्रमको योगदान महिलाको रहेको छ ।
कृषि र महिलाले आफ्नो घरपरिवारका लागि गर्ने कामको पहिचान नेपालको राष्ट्रिय योजना र बजेटले गर्न नसकेको बताइएको छ ।संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको लैङ्गिकता मामिला सम्बन्धि नेपाल प्रतिनिधि कमला विष्टले नेपालका महिलामा सुरक्षित आवासकै समस्या रहेको औँल्याउनुभयो ।
उहाँका अनुसार नेपालका १५–५० वर्ष उमेर समुहका पाँचमध्ये एक जना महिला घरेलु हिंसामा पर्नेगरेको तथ्य प्रस्तुत गर्नुभयो । अन्तर्राष्ट्रिय श्रम संगठनन (आइएलओ) का नेपाल निर्देशक नुम्यान ओज्कनले महिलामा लगानीको सोच मात्र महिलाका लागि नभएर सम्पूर्ण समाज र विश्वका लागि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आमाका रुपमा महिलाले गर्ने श्रम र लगानीलाई वेवास्ता भइरहेको विश्वमा अब महिलाले घरमै बसेर आम्दानी गर्न सक्नेगरी लगानीको वातावरण बनाउने कोशिस थालिएको छ ।”
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेपाल प्रतिनिधि आइसेनी लाबेले आवाजबाट बुलन्द भएको महिला आन्दोनललाई गति दिन लगानीको अवधारणाले् सघाउने अपेक्षा गर्नुभयो ।
त्यसका लागि नेपाल सरकार, पत्रकार तथा नागरिक समाजले संयुक्त राष्ट्रसङ्घलाई सघाउन अनुरोध गर्नुभयो ।
नेपालमा केही वर्षयतादेखि मौलाइरहेको लघुउद्यमको अवधारणामा नेपाली महिलाले घरेलु उद्यममा अग्रसरता देखाए पनि त्यसले महिलाको आर्थिक अवस्थालाई उकास्नेगरी प्रतिफल दिन नसकेको विज्ञहरुको भनाइ छ ।