काठमाडौंः भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याइने तयारी गरिएको छ।
नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको पहलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन्। प्रकृतिकी फुपू सीता ढकालकाअनुसार शव आज साँझसम्म नेपाल आइपुग्ने बताइएको छ।
प्रकृतिको शङ्कास्पद मृत्युको खबरपछि उनका बुबा सुनिल लम्साल ओडिसा पुगेका छन्। मंगलबार उनले प्रहरी अधिकारीहरूसँग भेट गर्दै छानबिनमार्फत न्याय सुनिश्चित गर्न आग्रह गरेका थिए।
२० वर्षीय प्रकृति गत आइतबार अपराह्न होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन थालेका थिए। तर, विश्वविद्यालय प्रशासनले प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोप लागेको छ।
विद्यार्थीहरूको विरोधपछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरिएको छ। नेपाली विद्यार्थीलाई धम्क्याएको आरोप लागेकी प्राध्यापक मन्जुशा पाण्डेले माफी मागेकी छन्।
प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको छ। ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
यसैबीच, प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। उनलाई पटक–पटक यातना दिएको प्रमाणसहित उजुरी दिँदा पनि विश्वविद्यालय प्रशासनले लापरबाही गरेको आरोप लागेको छ। घटनालाई लिएर नेपाल र भारत दुवै देशका विद्यार्थीहरू आन्दोलित छन् भने नेपाली संसदमा समेत विषय उठाइएको छ।
संवाददाता