काठमाडौं । न्यापरिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ आज सकिएको छ । गत शुक्रबारदेखि सुरु भएको संसदीय सुनुवाई आज सकिएको हो ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो । समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुवाई गरेको हो ।
सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश पोखरेलले अदालतमा रहेका हरेक मुद्दा कहिले सुनुवाइ हुन्छन् भन्ने सुनिश्चित गर्न मुद्दाको सुनुवाइ हुने मितिको सुनिश्चितता गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रस्तावित न्यायाधीश पोखरेलले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नुपर्ने दायित्वप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले नागरिक र राजनीतिक अधिकारका साथै संविधानले सुनिश्चित गरेका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको व्यवहारिक प्रत्याभूति दिलाउनु आफ्नो मुल ध्येय भएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा, समानुपातिक सहभागिता, वातावरणीय स्वच्छता, पर्यावरणीय सन्तुलन, उपभोक्ता अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशिता जस्ता संविधानद्वारा अभिव्यक्त विषयहरूको कार्यान्वयन गराउने कुरामा आफू प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो ।
प्रस्तावित न्यायाधीशहरू सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सांसदहरुले, न्यायलाई निष्पक्ष बनाउने, न्यायालयप्रति जनआस्था बढाउने र सर्वसाधारणले न्यायको अनुभूति गर्ने विषयमा प्रस्तावित न्यायाधीशहरुले खेल्न सक्ने भूमिकाका विषयमा प्रश्न गर्नुभएको थियो ।
सांसदहरुले न्याय महँगो भयो भन्ने आम गुनासो रहेको, आम सर्वसाधारणको पहुँचमा न्याय पुग्न नसकेको, मुद्दा फर्छ्यौटको समयावधि लामो हुने गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा पीडित अझ धेरै पीडामा पर्ने गरेको र अदालतको निर्णयका कारण मुलुकको विकास निर्माणमा रोकिदा मुलुकलाई ठूलो क्षति पुर्याउने गरेको विषयमा प्रश्न राख्नुभएको थियो ।
यसअघि शुक्रवार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमानको सुनुवाई गरेको समितिले आइतबार महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गानाको सुनुवाई गरेको थियो । सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि न्याय परिषद्ले यही मङ्सिर ५ गते छ जना न्यायाधीश सिफारिस गरेको थियो । सबै जनाको सुनुवाई सकेको संसदीय सुनुवाई समितिले नाम अनुमोदनका लागि पुस ४ गते बुधवार अर्को बैठक बस्ने निर्णय गरेको छ ।