१२ साउन काठमाडौँ । खोटाङका गणेश राईको उज्यालो अनि हँसिलो मुहार देख्दा कसैलाई पनि उनका दुवै हात कुहिनासम्म मात्र छन् तर नाडी, हत्केला र औँला छैन भनेर पत्याउन कठिन हुन्छ। अझ उनका कुहिना कम्युटरको कि-बोर्डमा तीव्र वेगमा नाचेको देखेर त छक्कै पर्छन्।
खोटाङ काहुलेका गणेश कुहिनोमात्र भए पनि उनी न त पढाइमा पछि परे न आधुनिक प्रविधि सिक्न र चलाउन नै। खोटाङको सदरमुकाम दिक्तेल बजारस्थित दिक्तेल क्याम्पसमा अध्ययन गरेका उनका कुहिनाले सपांगले भन्दा पनि तीव्र गतिमा कम्प्युटरका कि-बोर्डमा सल्बलाएको देखेर नेकपा एमालेका अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओली त मन्त्रमुग्ध नै भए।
गणेश दिक्तेल क्याम्पसमा अध्ययनरत रहेका वेला गणेशले राजधानीमै अध्ययन गरून् र केही काम पनि गरून् भनेर मिलन राई (हाल स्वर्गीय) ले काठमाडौँ ल्याएका थिए भने भैरव राईले गणेशलाई धेरै सहयोग गरेका थिए। मिलन‚ भैरव र विशाल भट्टराईलगायतले गणेशलाई ओलीसँग भेट्ने चाँजोपाँजो मिलाएका थिए।
एकपटक भेटेपछि बिर्सने अरु कतिपय नेताहरुजस्तो अध्यक्ष ओलीले बिर्सिएका थिएनन्।
पछि आफू प्रधानमन्त्री भएपछि गणेशलाई प्रोत्साहित गर्न तथा अपांगता भएका र सपांगहरुका लागि समेत उत्प्रेरणाको एउटा रोल मोडल नै हुने सम्भावना देखेर तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई प्रधानमन्त्रीको सचिवालयमा नै राख्न निर्देशन दिए।
त्यसपछि गणेशको प्रधानमन्त्रीको सचिवालयमा जागिरे यात्रा शुरु भयो । तर जब ओली प्रधानमन्त्रीबाट हटे तब गणेश अँध्यारा दिन शुरु भए। उनलाई प्रधानमन्त्रीको सचिवालयबाट हटाइयो र उनी बेरोजगार हुन पुगे।
तर ओली नै दोस्रोपटक प्रधानमन्त्री भएर सिंहदरबार फर्किएपछि भने गणेश पनि उनको पछिपछि सचिवालयमा फर्किए र काम गर्न थाले।
गणेशका दुःखको कथा यहीँ सकिँदैन।
फेरि केपी ओली प्रधानमन्त्रीबाट हट्नासाथ, गणेश पनि प्रमको सचिवालयबाट हटाइए ।
अहिले प्रधानमन्त्री नियुक्त भएर ओली सिंहदरबार प्रवेश गरेपछि उनले फेरि गणेश कता छन् भनेर खोजी गरे। सचिवालयमा गणेशलाई नदेखेपछि खोटाङका नेतालाई उनको खोजी गर्न लगाए।
सहसचिव विनोद कुँवरले पहिले आफैँले सचिवालयमा राखेर काम लगाएका गणेशलाई सिंहदरबार बोलाए र प्रम ओलीसँग भेट गराएपछि गणेशले फेरि प्रधानमन्त्रीको सचिवालयमा काम गर्न थालेका छन्
प्रधानमन्त्री बनेका अरु नेताहरुले मानवीयताको बेवास्ता गरे पनि गणेशजस्ता सक्षमलाई रोजगारी दिएर आत्मनिर्भर बनाउन नेताहरुले पनि केपी ओलीलाई पछ्याएमा अपांगता भएका व्यक्तिहरु पनि पक्कै आत्मनिर्भर हुन्थे।