राजतन्त्रकै झल्को दिने वंशवाद : नेताको निधनपछि परिवारकै सदस्यलाई सधैँ चुनावको टिकट

संवाददाता
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

काठमाडौं– आफ्नो परिवारका सदस्यलाई चुनावमा टिकट बाड्ने, मेयर, सांसद र मन्त्री बनाउने, केही सम्भव नभए आफ्नै सचिवालयको प्रमुख भएपनि बनाउने । नेपाली राजनीतिका लागि यो नयाँ होइन, पुरानै प्रवृत्ति हो । आफू बाँचुन्जेल त नेताले आफ्ना परिवारका सदस्यलाई पद बाँडेकै छन्, तर कुनै नेताको निधन भएपछि राजनीतिमा कुनै योगदान नै नगरेपनि नेताका श्रीमती, छोरा या छोरीलाई चुनावको टिकट दिने प्रवृत्ति अहिले मौलाउन थालेको छ । वैशाख १५ गते हुन लागेको इलाम र बझाङको उपनिर्वाचनमा पनि बाबुको निधनपछि रिक्त भएको पदमा उनीहरुका छोराहरुले नै टिकट पाएका छन् ।

देशमा राजतन्त्र अन्त्य भएको १५ वर्ष भइसक्यो । तर, राजनीतिक दलहरुमा भने अझै वंशानुगत राजतन्त्रकै ह्याङओभर छ । राजाको छोरा राजगद्दीमा बसेझैँ झझल्को दिने गरी राजनीतिक दलहरु पार्टीमा वंशवादलाई नै प्रश्रय दिइरहेका छन् । चुनावमा टिकट बाड्दा परिवारवाद, नातावाद, धनीमानी व्यापारी, दल अदलबदल गरेका, भ्रष्टाचारी आदिको बाहुल्यता भएकाले अवसर पाउनु नेपाली राजनीतिमा नयाँ होइन । तर, पछिल्लो समय कुनै सांसद नेता निधन भएपछि रिक्त हुने पदमा उसकै सन्तान या श्रीमतीलाई चुनावी टिकट दिने परम्परा बढिरहेको छ । वैशाख १५ गते हुन गइरहेको प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ को उपनिर्वाचन पछिल्लो उदाहरण हो ।

नेताहरुको निधनपछि राजनीतिमा सक्रियता नहुँदाहुँदै उनका परिवारका सदस्य नै टिकट दिएपछि पार्टीमा लामो समय योगदान गरेका नेता–कार्यकर्तालाई अन्याय हुने राजनीतिक विश्लेषक राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण न्यौपाने बताउँछन् । ‘क्षमतावान कार्यकर्ता हुँदाहुँदै मृतक नेताकै परिवारका सदस्यलाई टिकट दिने प्रवृत्ति सरासर गलत हो । यसले लामो समयदेखि पार्टीमा त्याग र योगदान पु¥याएका नेता कार्यकर्तामाथि अन्याय गर्छ । यसरी त उनीहरु के कालागि पार्टीमा बसिरहन्छ र ? ,’ न्यौपानेले भने ।

एमाले नेता सुभाष नेम्वाङपछि रिक्त भएको इलाम २ मा एमालेले सुभाषकै छोरा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाएको छ । जबकी उनी बुबाको निधनपछि नै राजनीतिमा सक्रिय भएका हुन् । उता कांग्रेस नेता पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको प्रदेशसभातर्फ बझाङ १ को उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेक सिंहलाई उम्मेद्वार बनाएको छ । शनिवारमात्रै दुवै क्षेत्रमा उम्मेद्वारको मनोनयन दर्ता भएको थियो । दुवै दलका अन्य उम्मेद्वारहरुको नाम सिफारिस भएका थिए तर पार्टीले राजनीतिमा यसअघि सक्रिय नभएपनि मृतक नेताका सन्तानलाई नै टिकट दियो ।

त्यसो त परिवारवादको सिढी चढेर यसरी राजनीतिमा आउनेहरुको सूची लामै छ । एमाले नेता मदन भण्डारी निधन भएपछि राजनीतिमा सक्रिय भएकी उनकी श्रीमती विद्या भण्डारी त यो देशको पहिलो महिला राष्ट्रपतिसम्म भइन् । ०७६ सालमा तत्कालिन एमाले सांसद रविन्द्र अधिकारी निधन भएपछि एमालेले रविन्द्रकै श्रीमति विद्या भट्टराई उम्मेद्वार बनाएर निर्वाचित गराएको थियो । जुन नेताको निधन भएको छ, त्यहाँ उसैको श्रीमती या छोराछोरीलाई उम्मेद्वार बनाउँदा मतदाताको मन पग्लिने र जित्ने सम्भावना बढी हुने देखेर पनि दलहरुले वंशवादलाई बढावा दिइरहेको राजनीतिक विश्लेषकहरु तर्क छ । तर, यसरी दुःख भजाउनुलाई उनीहरु ठिक भन्दैनन् । ‘दुःख भजाएपछि मतदाताले भोट हाल्छन् कि मनोविज्ञान पनि एउटा कारण हो । तर, सधैँ यसरी सफल हुन सकिन्न,’ राजनीतिक विश्लेषक न्यौपानेले भने ।

त्यसो त अहिलेका प्रधानमन्त्री प्रचण्डका छोरीदेखि बुहारीसम्म राजनीतिमै विभिन्न पदमा छन् । नेपाली कांग्रेसमा त बिपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान, गिरिजाप्रसाद कोइराला पुत्री सुजाता र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र वंशवादकै बाटोबाट राजनीतिमा स्थापित भएका हुन् । मुस्ताङबाट निर्वाचित अहिलेका प्रतिनिधिसभाका कान्छो संसद योगेश गौचन थकाली पनि कांग्रेस नेता रोमी गौचनका छोरा हुन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
58%
शुक्र
26 °C
शनि
12 °C
आइत
18 °C
सोम
20 °C
मंगल
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ