दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आउनुभएको छ । “दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु ।

सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ”, उहाँले भन्नुभयो, “आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ”उहाँका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्नुहुन्छ । दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् ।

डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिनुभएको छैन । त्यस बेला बाढीले उहाँको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्नुहुन्छ, “बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।” डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्योे ।

विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।” दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् ।

बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताउनुभयो । “वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी”, उहाँले भन्नुभयो, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।”

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ