रुकुम पश्चिम : रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ । विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेका छन् ।
पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुुवाले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थनुवा छन् । क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यस्थापनमा समस्या हुने गरेको छ ।
त्यसैगरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो । कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक–पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ ।
रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिनुभयो ।
हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारगार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ७० वर्षमाथिका चार कैदीबन्दी छन् । त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा रहेका छन् ।