काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमण गर्नुहुने भएको छ । उहाँले दुवै मुलुकमा परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। साउद बिहीबार अस्ट्रेलिया प्रस्थान गर्ने छन् । अस्ट्रेलियामा उनले माघ २७ र २८ मा पर्थ शहरमा हुने इन्डिया फाउन्डेसनको सातौं ‘इन्डियन ओसन कन्फरेन्स’ कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।
उक्त कार्यक्रमपछि अस्ट्रेलियामा भेटवार्ताको कार्यक्रम थाल्ने छन् । नेपाल र अस्ट्रेलिया बीच सन् १९६० को फेब्रअरी १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । अस्ट्रेलियाले सन् १९८४ मा नेपालमा पहिलो पटक दूतावास खोलेको थियो । उक्त दूतावास चार्ज डे अफियर्सको स्तरमा थियो ।
पछि सन् १९८६ मा राजदूतले नै नेतृत्व गर्ने गरि दूतावास सञ्चालन गर्यो । नेपालले भने सन् २००७ को मार्चमा क्याबेरामा दूतावास खोलेको हो । साथै, नेपालको अस्ट्रेलियाका ब्रिजबेन, मेलबर्न, सिड्नी, पर्थ र एडिलेटमा अवैतनिक दूतावास छन् ।
पछिल्लो समय अस्ट्रेलिया पढ्न जाने नेपालीहरु विद्यर्थाी बढ्दो छ ।
साथै, अस्ट्रेलियामा नेपालीहरुको बसोबास पनि पढेको छ । अस्ट्रेलिया नेपालको एक महत्वपूर्ण दातृ मुलुक हो । अस्ट्रेलियाले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्दै आइरहेको छ । विशेषगरी अस्ट्रेलियाले नेपालका स्वास्थ्य, शिक्षा, उर्जा, दिगो विकास, वन जंगल, कृषि, हवाई लगायतका विषयमा सहयोग गर्दै आइरहेको छ ।
अस्ट्रेलिया यात्रामा परराष्ट्रमन्त्री साउदले नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध र सहकार्यको बारेमा कुराहरु राख्ने मन्त्रालय स्रोतले बतायो । अस्ट्रेलियाका लागि नेपालकी पूर्वराजदूत लक्की शेर्पाले परराष्ट्रमन्त्रीले आफ्नो भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको समस्याको बारेमा कुरा उठाउनु पर्ने सुझाव दिइन् ।
पछिल्लो पटक सन् २०१६ मा नेपालका तत्कालिन परराष्ट्रमन्त्री प्रकाशसरण महतले अस्ट्रेलियाको भ्रमण गरेका थिए र समकक्षीसँग भेटवार्ता गरेका थिए । अस्ट्रेलियाको तर्फबाट भने गत जेठको पहिलो साता नेपालको दुई दिने भ्रमणमा अष्ट्रेलियका सहायक परराष्ट्र मन्त्री टीम वाट्सले नेपालको भ्रमण गरेका थिए ।
अस्ट्रेलियापछि साउद न्यूजिल्यान्डको भ्रमणमा निस्कने छन् । उनी फागुन १ मा अस्ट्रेलियाबाट न्यूजिल्यान्ड भ्रमणमा निस्कने छन् । फागुन ४ मा न्यूजिल्यान्डबाट नेपाल फर्कने कार्यक्रम रहेको छ । नेपाल र न्यूजिल्यान्ड बीच सन् १९६१ को मेमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । तर नेपाल र न्यूजिल्यान्ड बीचको मित्रता भने त्यस अघि नै अघि बढिसकेको थियो ।
न्यूजिल्यान्ड सर एडमन हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ को मेमा पहिलो पटक संयुक्त रुपमा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । नेपाल र न्यूजिल्यान्डले एकअर्काको मुलुकमा दूतावास नखोले पनि सम्बन्धलाई अवैतनिक दूतमार्फत कायमै राखेका छन् । न्यूजिल्यान्डसँग पनि दुई मुलुक बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र सहकार्यलाई बढाउने गरि परराष्ट्रमन्त्री साउदले भ्रमणमा जोड दिने परराष्ट्रका एक अधिकारीले बताए ।