बैंकक, थाइल्याण्ड: गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज सम्मेलन विवादमा तानिएको छ। सम्मेलनमा आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्य महेन्द्र श्रेष्ठले आयोजकले आफूलाई अपमानित गरेको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्।
२०२५ मार्च १५ र १६ मा बैंककको रेम्ब्रान्ड्ट होटलमा सम्पन्न सम्मेलनमा आइसिसी सदस्यको हैसियतमा सहभागी श्रेष्ठले कार्यक्रमको तयारीदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन्। उनले सम्मेलन सफल बनाउन १००० अमेरिकी डलर आर्थिक सहयोग गरेको प्रमाणसहित दाबी गरेका छन्। तर, कार्यक्रममा उनको योगदानलाई बेवास्ता गर्दै आयोजकले अपमानजनक व्यवहार गरेको उनको आरोप छ।
“कार्यक्रममा मलाई नचिनेको जस्तो व्यवहार गरियो, मेरो नाम उद्घोषण नगरी कार्यक्रम सुरु गरियो, सिट व्यवस्था नगरी उपेक्षा गरियो, र मेरो योगदानप्रति कुनै सम्मानजनक व्यवहार देखिएन,” श्रेष्ठले भने, “यो अत्यन्तै दुःखद, अपमानजनक र निराशाजनक अनुभव हो।”
“यस्ता व्यवहारले न केवल व्यक्तिगत इज्जतमाथि चोट पुर्याउँछ, संस्थाको एकता, पारदर्शिता र मूल्यमा पनि गम्भीर प्रश्न उठाउँछ,” श्रेष्ठले भने, “म यो घटनाप्रति गहिरो आपत्ति जनाउँदै एनआरएनएले योगदान गर्ने प्रत्येक सदस्यप्रति सम्मानजनक व्यवहार गरोस् भन्ने आग्रह गर्दछु।”
सम्मेलनको आयोजक एनआरएनए थाइल्याण्ड र सह-आयोजक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा विभाग र पीएनओज समिति थिए। कार्यक्रममा युवा तथा पीएनओजको भविष्यबारे छलफल भएको थियो।
यस घटनाले एनआरएनए थाइल्याण्डको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। घटनाबारे एनआरएनए थाइल्याण्डको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
