काठमाडौं । चर्चीत कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठ सहितको विवाद अदालत पुगेको छ । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै आफु निर्दाेश रहेको बताएका थिए । उनले पत्रकार सम्मेलनमा आफुले कानुनी बाटो खोज्ने बताएका थिए ।
शुक्रबार उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।
इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । शर्मिला श्रेष्ठलगायतका कलाकार संयुक्तरूपमा लाइभमा आएर उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए ।
पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूमाथि हातपातसमेत भएको दाबी गरेका थिए । लाइभमा बताइएअनुसार पाँच जनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो । आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका थिए । तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारले बताएका थिए । लाइभ आएकामा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।
इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइकी थिइन ।
ईन्द्रेणीका सञ्चालक कँडेलले भने आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका थिए । कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका थिए । उनले नुबझी झुटो समाचार बनाए कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।