कर्णाली, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका प्रतिभालाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज अयोजित ‘कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ को उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रदेशका प्रतिभालाई ललितकलामार्फत उजागर गर्नुपर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “इच्छाशक्ति र व्यवस्थापकीय क्षमता मुख्य हो ।
यसको समुचित प्रयोगबाट मात्र देशले अपेक्षित प्रतिफल प्राप्त गर्दछ ।” कर्णालीबाट लोप भएका सभ्यता र लुटिएका कलालाई ललितकलाका माध्यमबाट बाहिर ल्याउन सकिने मुख्यमन्त्री शर्माले बताउनुभयो । मुगुको राराताल, हुम्लाको लिमी र जुम्लाको सिञ्जा उपत्यका, डोल्पाको धो तथा शे–फोक्सुन्डो, कालीकोटको पचाल झरना, दैलेखको पञ्चकोशी, सुर्खेतको काँक्रेविहारलगायत धार्मिक तथा पर्यटकीयस्थललाई कलात्मक सृजनाबाट विश्वसामु चिनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँभन्दा विशाल सभ्यता बोकेको कर्णाली प्रदेशलाई पछि पारिएकाले यसको उत्थान विकासमा सङ्घीय सरकारले विशेष जोड दिनुपर्दछ । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली राष्ट्रिय तथा अन्तरराष्टियस्तरमा पहुँच वृद्धि गरी विश्वमा कर्णाली तथा नेपालको पहिचान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुसन्धान, सृजना र सम्मानलाई मूल नारा बनाएर अगाडि बढेका छौँ ।
अब विद्यालय तथा विश्वविद्यालयस्तरमा ललितकलाका विषयमा अध्ययन–अध्यापन हुनुपर्छ जसले नयाँ प्रतिभा उजागर गरोस् ।” कर्णाली मौलिक संस्कृति र सभ्यताको विकासको तरङ्ग अन्तरराष्ट्रियस्तरमा पु¥याउन सांस्कृतिक बुद्ध जन्माउनुपर्ने भन्दै उहाँले अहिलेसम्म यससँग सम्बन्धित स्रष्टा नभएकाले अब प्रदेशमा ललितकलासम्बन्धी प्रतिभा खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार कोन्कयाप लामाले कर्णालीबाट यो क्षेत्रमा आफ्नो नाम उच्च बनाउनुभएको छ ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाँखीले ललितकलालाई भुल्दा विशाल कर्णालीको स्वरुप, संरचना सभ्यतामा हराउँदै गएको तर्क गर्नुभयो । लोपोन्मुख अवस्थामा रहेका संस्कृति संरक्षण र प्रवद्र्धनमा सबै सरोकारवालाको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो, “समाजिक रुपान्तरणका लागि ललितकला अभियान थाल्नुपर्छ ।” समाजसेवी तथा बालरोग विशेषज्ञ डा नवराज केसीले सृजनाको विकास आमाको कोखबाटै हुने भन्दै बाल विकासको उपरान्त समाजको विकास हुने जिकिर गर्नुभयो ।
कर्णालीलाई चलाउने भावी नेतृत्व जन्माउन यो कार्यक्रमले विशेष मद्दत पुग्ने उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति सुर्खेतका सदस्य जितबहादुर रानाले यहाँको संस्कृति र मानव जीवनलाई क्यानभासमा उतार्न प्रदर्शनीले सघाउने धारणा राख्नुभयो । पाँच दिनसम्म सञ्चालन हुने कर्णाली प्रादेशिक ललितकला प्रदर्शनीमा ४६ स्रष्टाले ललितकलासँग विभिन्न सामग्री प्रदर्शनीमा राखेका छन् ।