काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् ।
उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन जनाको मृत्यु भएको भन्दै नगरप्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठुलो क्षति पुगेको छ ।
स्थानीय र मृतकका आफन्तले नगरप्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले हिजो रातीसम्म पनि भुसालको घर घेराउ गरेका थिए । हिजो घर घेराउ गर्दै नाराबाजी गरिरहेकाहरुलाई प्रहरीले तितरबितर पारे पनि शुक्रबार बिहानैदेखि उनीहरुले नगरपालिका कार्यालय र नगरप्रमुखको घरमा ढुङ्गामुढा गरेका हुन् ।
पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गए पनि नगरप्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोशित भएका हुन् । नाला खन्ने क्रममा पुरिएर हिजो कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो ।