काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ ।
मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँका पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मतदान गरेका छन् । त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । राष्ट्रिय सभामा जनमोर्चाका एक जना तुलप्रसाद विश्वकर्मा सदस्य छन् । राष्ट्रपतिबाट मनोनित एक जनाको पद रिक्त छ । सभाध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।
नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीका अनुसार दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय भएका दाहाल २०४८ मा २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।
दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद हुनुहुन्थ्यो । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित हुनुभएको थियो । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित हुनुभयो । २०१२ सालमा जन्मिनुभएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुनुहुन्छ ।