बैंकक, थाईल्यान्ड – नेपालका अवैतनिक विशेष एवं पूर्ण अधिकारप्राप्त राजदूत धन बहादुर ओलीले कम्बोडियाका प्रधानमन्त्री सम्देच मोहा बोर्वोर थीपदेई हुन मानेटसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। कम्बोडियाको राजधानी नोम पेन्हस्थित पीस पेलेसमा सम्पन्न भएको यो भेटवार्ता दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित थियो।
प्रधानमन्त्री हुन मानेटले नेपाल(कम्बोडियाबीच कायम उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रहरूमा सहकार्य बढाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले राजदूत ओलीको कार्यकाललाई सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिँदै दुई देशबीचका आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने आवश्यकता औंल्याउनुभयो।
भेटवार्ताका क्रममा राजदूत ओलीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना व्यक्त गर्दै कम्बोडियाली प्रधानमन्त्रीको स्वास्थ्य, दीर्घायु र कम्बोडियाली जनताको निरन्तर समृद्धिको शुभेच्छा व्यक्त गर्नुभयो।
यसअघि, राजदूत ओलीले कम्बोडियाका विभिन्न उच्च पदस्थ अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो। उहाँले संस्कृति तथा धर्म मन्त्री चाय बोरिन, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका राज्य सचिव यूएन खिएंग, एशिया–प्रशान्त विभागका महानिर्देशक छाय मकारा, र कानूनी, कन्सुलर तथा सीमा मामिला विभागका महानिर्देशक थो समनाङसँग छलफल गर्दै द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी, व्यापार विस्तार र आपसी हितका विविध विषयहरूमा व्यापक विचार(विमर्श गर्नुभएको थियो।
यो शिष्टाचार भेटवार्ताले नेपाल र कम्बोडियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन, व्यापार तथा लगानी प्रवद्र्धन गर्न, र सांस्कृतिक तथा कूटनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

