लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) अदालतमा पुगेर आत्मसर्मपण गरेका छन्।
रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन्।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिए।
रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले प्रदेश सांसद केसी अदालत उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको बताए ।
‘उहाँ अदालतमा उपस्थित भएपछि अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरको छ,’ डिएसपी खरेलले भने।
स्रोतका अनुसार प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो। तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ।
३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो। तर हालसम्म उनले सजाय भुक्तान गरेका थिएनन्।
गत निर्वाचनमा(२०७९को) केसी नेपाली कांग्रेसको (काङ्ग्रेस -माओवादी गठबन्धन ) तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए। त्यसपछि फेरि भुक्तान गर्न बाँकी सजायका बारेमा चर्चा सुरू भएको थियो।
केसी कारागार चलान भएसँगै उनको पद के हुन्छ भन्ने विषयले चर्चा पाएको छ।
संविधानको धारा १७८ मा प्रदेश सभा सदस्यका लागि योग्यता तोकिएको छ।
जसको ‘घ’ मा भनिएको छ, ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको।’