काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदकालागि आज मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि भोली बुधबार निर्वाचन हुने छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलबार बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ ।
मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।
निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् । राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् ।
नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य छन् ।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबिच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति भइसकेको छैन ।
फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ ।
गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुने छ । निर्वाचन कार्यक्रम अनुसार मङ्गलबार नै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको चैत २८ गते बुधबार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।