काठमाडाैं। भाेलि शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पूरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदानमा स्थलको तयारी सकेका छन्।
इलाम– २ का एक सय ४९ मतदान केन्द्रमा स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायत तयार भइसकेको छ।
मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिनु भयो।
निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन जनाइएको छ।
शनिबार छ पालिकाका ४२ वडामा मतदान हुन लागेको हो। यसपटकको निर्वाचनमा इलाम–२ मा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।