काठमाडौँ,। राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।
नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।
“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”
राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।