काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताउनुभएको छ ।
नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।
उहाँले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ ।
“यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धि र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै फेरि एकपटक समस्त नेपालीमा शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ ।
सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्राप्त सफलता २०८० सालका आशालाग्दा राष्ट्रिय उपलब्धिका रुपमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।