काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् ।
छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताए । प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए ।
उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।
उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।
उनले जलवायु परिवर्तनका मुद्धालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्वावश्यक भएको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षाहरुलाई देखिने खालका उपलब्धिमा रुपान्तरित गर्नुपर्नेमा जोड दिए ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एसोसिएनका अध्यक्ष रेइको हायाशीलगायत सम्मेलनामा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।