काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद) को १३ ठाउँमा जग्गा–जमिन रहेको सम्पत्ती विवरणमा खुलेको छ। उहाँले १५० तोलाभन्दा बढी सुन रहेको र २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा खुलाउनुभएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
विवरणअनुसार श्रममन्त्री डिपीपत्नी अम्बिकाको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा ३ करोड मूल्य बराबरको घर–घडेरी रहेको छ। उहाँले यो निजी कमाइबाट आर्जन गरेको उल्लेख गरेका गर्नुभएको छ । अम्बिका केसीकै नाममा धादिङको गजुरी गाउँपालिका ८ मा ८ आना, धादिङकै गजुरी–१ मा ४ आना, काठमाडौंको नागार्जुन नगरपालिका १ मा ५, सोही वडाको अर्को स्थानमा ३ आना जग्गा रहेको छ।
काठमाडौंको टोखामा ४ आना ३ दाम १ पैसा, काठमाडौंकै नागार्जुनमा १० आना, लम्जुङको राइनासको वडा नम्बर ६ को पाँच ठाउँमा ६ आना, ३ रोपनी ७ आना १ दाम, ६ रोपनी ३ आना २ दाम, ९ आना २ दाम २ पैसा, १३ आना ३ दाम जग्गा रहेको खुलाउनुभएको छ ।
त्यस्तै भक्तपुरको बागेश्वरीमा ८ आना ३ दाम ३ पैसा जग्गा रहेको विवरणमा उल्लेख छ । उहाँले १५० तोला सुन, १०० तोला चाँदी, १० तोला हिरा रहेको खुलाउनुभएको छ । यी गरगहना २०७४ साल साउन १५ अगाडि जोडेको उल्लेख छ । श्रीमती अम्बिका केसीको नाममा बैंकमा ५० लाख, २० लाख, १५ लाख मौज्दात रहेको छ। त्यस्तै आफ्नै नाममा १३ लाख, ४ लाख र १ करोड १५ लाख रहेको खुलेको छ ।
विभिन्न बैंक तथा वित्तिय संस्थाको गरी ६७ हजार थान सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँले टोयोटा प्राडो, टाटा नेस्कन इभी गरी दुईवटा सवारी साधन रहेको खुलाउनुभएको छ । त्यस्तै स्वयम्भू स्टार ब्यांकेट, सुमिरे ट्राभल्स एण्ड टुर्स, इजी लिंक रेमिट, इपिए ह्यान्डी क्राफ्ट्सलगायत कम्पनी रहेको र यी सबै निजी कमाइबाट जोडेको पनि खुलाउनुभएको छ ।