महोत्तरी, २१ चैतः मधेस प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाम समीप अवस्थित महोत्तरीका ऐतिहासिक एवं पुरातात्विक महत्वका धार्मिक सम्पदा संरक्षाणको अभावमा जीर्ण बन्दै गएका छन् ।
हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा योजनाबद्ध पहलकदमी नदेखिएपछि यी उपेक्षित बनेका छन् । महोत्तरीको सुदूर–उत्तर चुरे पहाडी काछमा राइमण्डल धार्मिकक्षेत्र छ । अहिले बर्दिबास–३ मा पर्ने राइमण्डल सत्ययुगमा दानवहरूको आक्रमणबाट आजित भएका स्वर्गका राजा इन्द्रले महादेवको तपस्या गरेका ठाउँका रूपमा परिचित छ ।
यहाँ इन्द्रले स्थापना गरेको मानिएको इन्द्रेश्वर महादेवको शिवलिङ्ग छ तर यो संरक्षणको प्रतीक्षामा छ । लक्ष्मी खोला किनारमा अवस्थित राइमण्डल धार्मिकक्षेत्र चुरेको सर्वाधिक उचाइमध्येको सोलीघोप्टे डाँडाको फेदीमा रहेको छ । इन्द्रेश्वर महादेव मन्दिर अगाडिको भिरमा परेवाका असङ्ख्य वासस्थान छन् । घरपालुवा परेवा यहाँको भिरमा लामो समयदेखि बनाएर बस्दै आएका ७० वर्षीया चन्द्रमाया पुलामी बताउनुहुन्छ ।
यसैगरी राइमण्डलकै शिरमा लोपोन्मुख पक्षी गिद्धको बासस्थान फेला परेको छ । भर्खरै चुरेकाछमा पर्यटकीय गन्तव्य पहिल्याउन बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जालले थालेका पदयात्राको क्रममा गिद्धको बासस्थान फेला परेको हो । राइमण्डल शिरमै घना जङ्गलबीचको पहाडी थुम्कामा सिद्धगुफा छ, जहाँ एक भगवद्भक्त तपस्यारत छन् ।
यस्तै बर्दिबास–५ को चुरेकाछकै पहाडी थुम्कामा टुटेश्वरनाथ महादेव मन्दिर छ । यो शिवलिङ्ग सतिदेवीको अङ्ग पतन भएर स्थापित भएको जनविश्वास छ । यसैगरी बर्दिबास–४ माईस्थानमा देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर छ । यी चुरेकाछ वरपरका बाहेक जिल्लामा कैयौँ प्राचीन धार्मिकस्थल छन् तर यी उचित संरक्षणको अभावमा जीर्ण भएका छन् । जिल्ला सदरमुकाममा रहेको जलेश्वरनाथको चर्चा भए पनि जिल्लाको सुदूर–दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित मङ्गलनाथ शिवलिङ्गबारे खोजीनीति नभएको मगरथानाका बासिन्दा शिक्षक धर्वेन्द्रकुमार यादव बताउनुहुन्छ ।
यसैगरी भङ्गाहा–५ सिद्धपुरअवस्थित सिद्धनाथ महादेव मन्दिर र भङ्गाहा–९ स्थित रामसीताले होली खेलेका ठाउँ मानिने कञ्चनवनमा पनि राज्यको आँखा नपरेको भङ्गाहा–४ का बासिन्दा ३० वर्षीय युवा रामईश्वर ठाकुर बताउनुहुन्छ । उहाँहरू ती स्थानको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुहुन्छ । “रातु र बडहरी नदीको दोभानअवस्थित सिद्धनाथ महादेव आदिकालदेखि रहेका हामी सुन्छौँ, तर यो प्राचीन शिवालय अब दुवै नदीको चपेटामा परेर बगरमा परिणत हुँदैछ”, ठाकुर भन्नुहुन्छ, “सदियौँ पुरानो देवस्थल संरक्षणमा राज्यका कुनै निकायले चासो देखाउँदैनन् ।”
यसैगरी बर्सेनि मिथिला मध्यमा परिक्रमाको आठौँ दिन होरी उत्सव हुँदै आएको कञ्चनवन पनि परिक्रमा सकिएसँगै सम्झनामा नरहने ठाकुरको गुनासो छ । जिल्लामा प्रसिद्ध धार्मिकस्थलमा बलवा–३ पडौलस्थित कारिख महाराजस्थान, बलवा–९ स्थित ध्रुवकुण्ड, बलवा–१० रौजास्थित मजार, भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी विहारविहारिणी मन्दिर, रामसीताको विवाहमा वेदी (विवाहमण्डप) बनाउन माटो खनिएको ठाउँ मटिहानी, रामायणकालकै पितृमात्रृभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टी–१ बगडास्थित अन्धाअन्धीस्थान र पिपरा गाउँपालिकाको बनौलीदनौलीमा मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढ छ ।
यीमध्ये कतिपयका शीर्षकमा विभिन्न ठाउँबाट रकम लिएर टाठाबाठाले मनमानी गरेका स्थानीय सर्वसाधारण बताउँछन् । पडौलको कारिखस्थान सिद्धपुरुष कारिख महाराजको स्थान मानिन्छ । भदौ, कात्तिक, पुस र चैतबाहेकका सबै महिनाका सोमबार र शुक्रबार यहाँ मनोकाङ्क्षा माग्ने र भाकल दिने श्रद्धालुको भीड लाग्छ । यहाँ मधेसका मात्र नभएर छिमेकको भारतको विहार राज्यका विभिन्न जिल्लाबाट उल्लेख्य सङ्ख्याका श्रद्धालु आउने गरेका छन् । यसैगरी रौजास्थित इस्लाम परम्पराका सुफी सन्तहरू गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको मजारमा ‘मन्नत’ माग्ने (दुःख पुकारा गर्ने) र मन्नत दिने (भाकल) दिने श्रद्धालु पुग्छन् ।
मजारमा मन्नत माग्नेहरू हिन्दू र मुसलमान सराबरी पुग्ने गरेका रौजाकै रासविहारी महतो बताउनुहुन्छ । यसबाहेक औरही–७ भोइलस्थित प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिर, रामगोपालपुरको अन्हेरबाट र लोहारपट्टी–९ पिपराढीस्थित गेरुकाधाम जिल्लाका प्रसिद्ध धार्मिकस्थल हुन् । जिल्लाका यी पुरातात्विक महत्वका अति प्राचीन धार्मिकस्थल धेरैजसो उपेक्षित बनेका यहाँका बुद्धिजीवीको टिप्पणी छ ।
जिल्लामा हिन्दू परम्पराका मठमन्दिर, इस्लाम परम्पराका मजार र बौद्ध परम्पराका गुम्बा रेखदेख र संरक्षण नपाएर खण्डहरजस्तै बन्दैछन् । जिल्लाका यी पुरातात्विक महत्वका स्थलको संरक्षण, संवर्द्धनमा तीनै तहका सरकारको चासो र पहलकदमी हुनपर्ने भङ्गाहा–६ हतिसर्वाका बासिन्दा रामएकवाल राय बताउनुहुन्छ । जिल्लाका यी धार्मिक र पुरातात्विक महत्वका स्थलको तत्काल संरक्षणको पहलकदमी नभए पछिल्लो पुस्ताले इतिहास पढ्दामात्रै यी ठाउँबारे जानकारी पाउने स्थानीय बुद्धिजीवीहरूको टिप्पणी छ ।