एजेन्सी । विवाद र प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी छिन् । द डेली स्टारका अनुसार हसिनाको अवामी लिगले २२३ सिटमा जित हात पारेको छ । आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको थियो । बंगलादेशी जातीय संसद्मा ३५० सांसद हुन्छन् । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ ।
नवगाउँ—२ मा भने स्वतन्त्र उम्मेदवारको मृत्यु भएकाले चुनाव स्थगित गरिएको थियो । अवामी लिगपछि स्वतन्त्र उम्मेदवारहरूले धेरै ठाउँमा जित हात पारेका छन् । जितसँगै हसिना पुनः एक कार्यकालका लागि बंगलादेशको प्रधानमन्त्री बन्ने भएकी छिन् । शेख हसिनाको यो पाँचौँ कार्यकाल हुनेछ ।
उनी पहिलो पटक सन् १९९६ मा बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि २००९ मा उनी पुनः प्रधानमन्त्री बनिन् । त्यसयता लगातार उनी बंगलादेशी सत्तामा रहेकी छिन् । स्वतन्त्र उम्मेदवारहरू ६१ क्षेत्रमा विजयी हुँदा बंगलादेशी संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको जातीय पार्टीले ११ सिटमा जित हात पारेको छ । यसअघि २०१८ मा भएको चुनावमा अवामी लिग २५८ सिट र जातीय पार्टी २७ सिटमा विजयी भएको थियो ।
बंगलादेशको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी९बीएनपी०ले चुनाव बहिष्कार गरेको थियो। बीएनपीले धाँधलीपूर्ण तरिकाले गरिएको चुनाव मान्य नहुने बताएको छ । हसिना नेतृत्वको सरकारले चुनावअघि नै बीएनपीका हजारौँ कार्यकर्तालाई पक्राउ गरेको थियो । आइतबार भएको निर्वाचनमा मतदान पनि न्यून भएको छ । बंगलादेशका निर्वाचन अधिकारीहरूले नै करिब ४० प्रतिशत मत खसेको बताएका छन् । टिप्पणीकारहरू भने ४० प्रतिशत पनि मत नखसेको बताउँछन् ।
हसिना नेतृत्वमा बंगलादेशमा पछिल्ला वर्षमा अधिनायकवाद हाबी भएको टाइम म्यागेजिनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री तथा बीएनपी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको अभियोग लगाइएको छ । बिरामी अवस्थामा रहेकी उनी हाल निवासमा नजरबन्दमा छन् भने उनको दलका कार्यकर्तामाथि मुद्दा लगाइएको छ । स्वतन्त्र पत्रकार र नागरिक समाजका प्रतिनिधिमाथि प्रतिशोधपूर्ण रूपमा कारबाही गर्ने गरिएको टाइमले जनाएको छ । अहिले भएको चुनाव हसिनालाई तानाशाह बन्ने बाटो मात्र भएको आलोचकहरूले दाबी गरेका छन् ।
बंगलादेशको जहाँगिरनगर विश्वविद्यालयका प्राध्यापक अनु मोहम्मदले चुनाव केवल औपचारिकताका लागि मात्र गराइएको टिप्पणी गरेका छन् । डेली स्टारमा प्रकाशित उनको लेखमा उनले संवैधानिक निरन्तरताका नाममा चुनाव गराइए पनि यसको नाटकीय र भविष्यवाणीको प्रकृतिले शासक र धनी वर्गलाई अझ शक्तिशाली बनाएको बताएका छन् । उनी भन्छन्, चुनावी नतिजासँगै अवामी लिग पुनस् सत्तामा आउँदैछ तर के तिनीहरू साँच्चै नै जनताका प्रतिनिधि हुन् ।
यद्यपि, हसिनाको कार्यकालमा आर्थिक उपलब्धि भने सकारात्मक नै छ । २००६ मा उनले सत्ता सम्हाल्दा ७१ अर्ब अमेरिकी डलर रहेको देशको कुल गार्हस्थ्य उत्पादन २०२२ मा ४ खर्ब ६० अर्ब पुगेको छ । पछिल्लो समय उच्च प्रविधियुक्त उत्पादका क्षेत्रमा फड्को मारिरहेको बंगलादेश हाल भारतपछि दोस्रो ठूलो एसियाली अर्थतन्त्र हो ।