काठमाडौं । २३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरुसँग सोमबार हुने भनेको वार्ता विथोलिएको छ । गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो ।
सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो ।
गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो ।
दुवै पक्षले एकअर्काको कुुरा सुनेपछि सोमबार बिहान ११ बजे फेरि बैठक बस्ने गरी छलफल टुंगिएको थियो । सोमबार शहीद गेट–न्यूरोड हुँदै रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म खाली खुट्टा मार्च गर्ने कार्यक्रम संघर्ष समितिले तय गरेको थियो । तर, प्रहरीले सामान उठाउने तयारी गरेपछि आफूहरु पूर्वनिर्धारित कार्यक्रम छाडेर भृकुटीमण्डपमै बसिरहेको नवीनले बताए ।
मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।

