अगस्ट 14 बैंकक
थाइल्याण्डको संवेधानिक अदालतले प्रधानमन्त्री श्रेथा थबिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार पदमुक्त गर्न आदेश दिएको छ ।
जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो ।
६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ ।
उनी एक वर्षभन्दा पनि कम समय प्रधानमन्त्री रहे । साथै उनी पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले हटाएका तेस्रो प्रधनमन्त्री हुन् ।
अदालतको आदेशपछि अपदस्थ भएका प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार आफूलाई नैतिक नियम उल्लङ्घन गरेको कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।
“म अदालतको फैसलाको सम्मान गर्छु । म लगभग एक वर्षदेखि प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेको छु । मैले इमानदारीका साथ देशको नेतृत्व गर्ने प्रयास गरेको छु,” संवैधानिक अदालतको फैसलापछि श्रेथाले आफ्नो कार्यालय बाहिर पत्रकारहरूलाई भने ।
अब संसदमा गोप्य मतदानमार्फत् नयाँ प्रधानमन्त्री चयन गरिनेछ ।
थविसिन अगष्ट २०२३ मा मात्र प्रधानमन्त्री बनेका थिए र, थाइल्याण्डमा ९ वर्षदेखि चलिरहेको सैन्य प्रभुत्व भएको सरकार अन्त्य भएको थियो । उनको नियुक्ति पनि राजनीतिक सम्झौतामा भएको थियो, जसले आम चुनावमा सबभन्दा धेरे सिट जितेको मुभ फवार्ड पार्टीलाई सरकारबाट बाहिर राख्यो ।
मुभ फवार्ड पार्टीको शानदार चुनावी जित थाइल्याण्डका लागि नयाँ सुरुआत मानिएको थियो । तर सेनाले नियुक्त गरेको सिनेटरहरुले यो पार्टीलाई सरकार बनाउन रोक्यो । दोस्रो दल फेउ थाईले मुभ फवार्ड पार्टीलाई अलत राखेर गठबन्धनका लागि अरु दलसँग सम्झौता गर्यो र थविसिन प्रधानमन्त्री बने ।
पछिल्लो साता मात्र संवैधानिक अदालतले नै असंवैधानिक चुनावी वाचा गरेको भन्दै मुभ फवार्ड पार्टीलाई भंग गर्नुका साथै पार्टीका नेता र ११ सांसदलाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको थियो ।