काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
शनिबार नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा कोरिया राजदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने, ‘कोरिया र सरकारबीच सम्बन्ध निकै राम्रो छ । कुनै पनि कोणबाट सम्बन्ध नराम्रो छैन । आगामी दिनमा अझै प्रगाढ बनाउने छौँ । नेपालको विकासका निम्ति शिक्षा, जलस्रोत कृषिका क्षेत्रमा पुर्याएको योगदानप्रति कृतज्ञ छौँ।’
मन्त्री पाण्डेले कोरियाले ५० हजार नेपालीहरू रोजगार दिइरहेकोमा कोरियाली सरकारप्रति धन्यवाद ज्ञापन गरे । प्रत्येक वर्ष दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको संख्या १० वटा देशमध्ये टप टेनमा परेको उल्लेख गरे ।
मन्त्री पाण्डेले कोरियाली सरकार माध्यमबाट नेपाल आएर अध्ययन, अनुसन्धान, भ्रमण गर्नका लागि आव्हान गरे । उनले सांस्कृतिक आदान प्रदानका गर्दै दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गरे । नेपाल (कोरियामैत्री सम्बन्धको अवसरमा कोरियाली दूतावासले कला परिषद्मा कोरियाको कला संस्कृति सम्बन्धी डिजिटल मार्फत प्रदर्शनी समेत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गरे ।
उनले ‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत रहेको जानकारी गराए । त्यसै गरी कोरिया र नेपालबीचका समानताको विषय पनि उल्लेख गरे । यस्तै उनले कला सांस्कृतिक आधारित कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने बताए ।