वासिङ्टन । संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन (सोफिया हुवाङ) साथै श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजायको दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ ।
“हामी चीनलाई हुवाङ र वाङका साथै आफ्नो मौलिक स्वतन्त्रताको प्रयोग गरेको आरोपमा अन्यायपूर्ण रूपमा हिरासतमा राखिएका अन्य व्यक्तिलाई तुरुन्तै रिहा गर्न आग्रह गर्दछौँ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा भनिएको छ ।चिनियाँ प्रशासनले लामो समयसम्मको अनुसन्धान र परिक्षणपछि हुवाङलाई पाँच वर्ष तथा वाङलाई तीन वर्ष र छ महिनाको जेल सजाय सुनाएको हो ।
यसबाहेक, अमेरिकी विदेश विभागले चीनलाई अभिव्यक्ति र निष्पक्ष परीक्षणजस्ता स्वतन्त्रतासहित मानव अधिकारको सम्मान गर्ने आफ्नो वाचा कायम राख्न आग्रह गरेको छ ।
“हामी जन गणतन्त्र चीनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष परीक्षणको सुनिश्चिततासहित मानव अधिकारको सम्मान गर्न आह्वान गर्दछौँ ।
साथै मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षाको क्रममा यस वर्ष गरिएका धेरै सिफारिसहरू स्वीकार गर्न पनि आग्रह गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । हुवाङले चीनको मिटु आन्दोलनको समयमा यौन उत्पीडनको रिपोर्ट गर्न पीडितहरूका लागि एक सामाजिक सञ्चार प्लेटफर्म सिर्जना गर्नुभएको थियो ।
उहाँले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडन चिन्ताको विषय भएको सर्वेक्षणहरू साझा गर्नुभएको ‘द भ्वाइस अफ अमेरिका’ले जनाएको छ । सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उहाँलाई पक्राउ गरिएको थियो ।
भ्वाइस अफ अमेरिकाका अनुसार, वाङ सन् २०१४ देखि श्रमिकहरूको अधिकार र अपाङ्गता भएका व्यक्तिहरूका लागि वकालत गर्दै आउनुभएको छ । अनलाइन समर्थन समूह फ्रि हुआङ जुएकिन र वाङ जियानबिङका अनुसार हुवाङले सजायविरुद्ध पुनरावेदन गर्ने योजना बनाउनुभएको छ ।