ललितपुर, १७ : ललितपुर महानगरपालिका–२१ खोकना शुद्ध तोरीको तेल पाइने ठाउँका रुपमा परिचित छ । केही वर्ष अघिसम्म खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय थियो ।
हाल खोकनावासी कृषिमा आवद्ध भए पनि तेल व्यवसाय सञ्चालन गर्ने कम मात्रामा छन् । खोकनाको चार टोलमा चार परम्परागत तोरी पेल्ने काठको मिललाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि २०७४ देखि ललितपुर महानगरले पुनःनिमार्ण कार्य सुरु गरेको ललितपुर–२१ का वडाध्यक्ष रवीन महर्जन बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “खोकना शुद्ध तोरीको तेल पाइने ठाउँको रुपमा परिचित रहेको कारण इतिहास बचाउनलाई र यहाँका बासिन्दालाई व्यवसायमा जोड्नलाई मिल तयार गर्न लागेका हौँ ।” खोकनावासीलाई व्यवसायमा जोड्न र खोकना ऐतिहासिक गाउँ रहेका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न परमपरागत मिल सञ्चालनमा ल्याउन लागेको वडाध्यक्ष महर्जनको भनाइ छ ।
उहाँका अनुसार ऐतिहासिक रुपमा चार टोलमा सञ्चालित चार मिलका लागि भवन निर्माण कार्य करिब सकिएको र अब यो वर्षभित्र सञ्चालनमा आउनेछ । हाल खोकनाका स्थानीयले आधुनिक मेसिनबाट चल्ने तोरी मिल प्रयोग गरेर व्यवसाय सञ्चालन गरे पनि परम्परागत रुपमा चलिएको काठको मिल एउटा मात्र छ । ‘ग्याबु ज्यासा’ तेल मिल स्थानीय कान्छा महर्जनले सम्झौताअनुसार सञ्चालन गर्दै आउनुभएको छ । अन्य ह्योबु टोल, धोकासी टोल र थलसी टोलका परम्परागत मिल २०७२ सालको भूकम्पपछि सञ्चालनमा आउन सकिरहेका छैनन् । ती परम्परागत मिललाई सञ्चालनमा ल्याउन महानगरले पहल गरिरहेको छ । ललितपुरको खोकना कृषि पेसा र संस्कृतिमा अब्बल भएका कारण यहाँको परम्परालाई बचाउनुपर्ने खोकनाका स्थानीय ६१ वर्षका हरिराम डुङ्गोल बताउनुहुन्छ । “आजभन्दा ३० वर्ष अगाडि खोकनामा ‘अर्गानिक’ उत्पादन हुन्थ्यो, स्थानीयवासी खेतीपाती, पशुपालन र तेल व्यवसायमा आवद्ध थिए, अहिले परम्परागत पेसा विस्तारै हराउँदै गरएको छ”, उहाँले भन्नुभयो ।
त्यसैगरी आफूहरु तोरीको तेल बेच्न काठमाडौँ उपत्यकाका विभिन्न ठाउँलगायत धादिङ र नुवाकोटसम्म पुगेको स्थानीय ८१ वर्षका पुनलाल महर्जन बताउनुहुन्छ । उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “अहिले त फोनको भरमा घरमै तोरी आउँछ, तेल लिनका लागि पनि घरमै ग्राहक आउँछन्, त्यो समयमा तेल बोकेर तोरी साट्न नुवाकोट, रसुवा लगायतका जिल्लासम्म पुग्नुपथ्र्यो ।” खोकनावासीको मुख्य पेसा तेल व्यवसाय रहेको इतिहास भए पनि त्यो इतिहास विस्तारै मेटिन थालेको खोकनाका स्थानीय ७० वर्षीय रामलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले परम्परागत काठको मिल छैनन्, सबै आधुनिक मिल छन्, धेरैले परम्परागत तेल व्यवसाय पनि छाडिसके, वास्तवमा परम्परालाई बचाउनुपर्ने हो ।”