सुम्लिखामा यलम्बर उद्यान

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

खोटाङ, १८ जेठः खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।

वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।

उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताउनुभयो । “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उहाँले भन्नुभयो, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिनुभयो ।

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ । जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्रगतिमा भइरहेका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
3 km/h
बिहि
18 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ