काठमाडौं । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आठौँ रियल स्टेट प्रदर्शनी हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
मेलाले आमसमुदायमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा जानकारी उपलब्ध गराउने आयोजकले जनाएको छ ।
मेलाले घरजग्गा व्यवसायलाई समयसाक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ । घरजग्गा तथा सम्बन्धित व्यवसायी र यसका उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुर्याउने र नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारेसमेत मेलाबाट जानकारी लिन सक्ने सङ्घले जनाएको छ ।
मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आआफ्ना सेवा तथा उत्पादनको प्रदर्शन गर्ने छन् । सङ्घका अध्यक्ष रमेश धमलाले मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैङ्क र बिमा कम्पनी सहभागी हुने जानकारी दिनुभयो ।
मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वायर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान र बिमा, बैङ्किङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आआफ्ना तथा परामर्शसमेत उपलब्ध गराउने सङ्घले जनाएको छ ।
चार दिनसम्म सञ्चालन हुने मेलामा दुई अर्ब ५० करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको छ । ६० भन्दा बढी स्टल रहेका मेलामा कम्तीमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।