एक समय थियो जतिबेला दयाहाङ राइले एक्टरको परिचय दिँदा भन्दा मान्छेहरु हाँस्थे । तर, समयले कोल्टे फेरिसकेको छ । अहिले उनी नेपालको चर्चित र व्यस्त अभिनेतामा कहलिन्छन् । यति व्यस्त छन् कि निर्मातासँग फिल्मको स्क्रिप्ट छ तर उनीसँग समय छैन । उनी स्वयम् भन्ने गर्छन्, ‘कुनैबेला वास्तविक जीवनमा पनि म मनोरञ्जनको चरित्र भएँ । ’ तर, त्यही कुरालाई मनन गरेर अहिले पर्दामा पनि उनी जस्तै किनारामा पारिएका चरित्रहरुलाई ल्याउन खोज्छन् । ‘मान्छेहरू मलाई हेरेर हाँस्थे भने म पनि त्यस्तो चरित्रहरूमा काम गर्छु जसलाई हेरेर उनीहरूले मनोरञ्जन लिउन्,’ यही दर्शन बोकेर उनले फिल्ममा काम गर्न थाले । रंगमञ्चबाट अभिनय यात्रा थालेका दयाहाङको अभिनय क्षमता र प्रतिभाको खूब प्रशंसा हुन्छ । कुनैबेला थेप्चो नाक, चिम्सो आँखा नेपाली फिल्मको हिरो हुँदैनथ्यो तर दयाहाङले त्यो परम्परागत मानक पनि तोडिदिए । यसको पछाडी उनले पात्रलाई न्याय गर्न गर्ने मिहनेत पनि कारण हो । स्क्रिप्ट हातमा पर्नासाथ सबैभन्दा सुरुमा उनी पात्रको मनोविज्ञान समात्न खोज्छन् । पात्रको राजनीतिक,मौलिक, भौगोलिक आदि पृष्ठभूमिका आधारमा उनी दिइएको पात्रको मनोविज्ञान समात्ने कोशिष गर्छन् । ‘मैले अक्सर गर्ने क्यारेक्टरमा त्यसको हुलिया निर्माण भइसकेको हुँदैन,’ उनी भन्छन्, ‘पहिले पात्रको मनोविज्ञान तयार गर्छु, त्यसपछि मात्रै हुलिया निर्माण गरेको हुन्छु । खासमा पात्रको पहिरनको जिम्मा टिमलाई नै दिन्छु, त्यसको छनौटतिर म खासै रुची देखाउँदिन । ’ ५० बढी फिल्ममा अभिनय गरेका र दर्जनौ हिट फिल्म दिएका दयाहाङले आफूले निर्वाह गरेका पात्रमध्ये प्रिय लाग्ने पाँच क्यारेक्टरको कथा हामीलाई सुनाएका छन् ।
अमर लामा (फिल्म–दासढुंगा)
२०५० जेठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा गाडी दुर्घटनामा निधन भयो जसलाई अझैसम्म राजनीतिक वृत्तमा रहस्यमही रुपमै हेरिन्छ । भण्डारीका गाडी चालक थिए, अमर लामा । एक दिन साहित्यकार कृष्ण शाह यात्रीमार्फतले भन्नुभयो– ‘निर्देशक मनोज पण्डितले एउटा फिल्म गर्दैछ, त्यसमा तिमीलाई फिट हुने क्यारेक्टर छ, एकपटक भेट ।’ त्यसपछि पण्डितसँग भेट भयो । पहिलो भेटमा केही ‘कन्फर्म’ भएन । पछि फोन गर्छु भन्नुभयो । त्यसको केही दिनपछि उहाँले फोन गरेर फेरि भेट्यौं । भेटमा उहाँको प्रस्ताव थियो– ‘ल अब काम गरौं । तर, काम गर्नका लागि तिमीले मलाई केही उर्जा दिनुप¥यो ।’ जवाफमा मैले पनि दाइसँग ‘उर्जा’ नै खोजेँ । लामाबारे विस्तृतमा जानकारी नभएको बताएँ । त्यसपछि म स्वयं अध्ययन–अनुसन्धानतिर लागेँ । त्यसपछि पण्डितले मलाई ‘यसमा तिमीले खोजेको कुरा हुनसक्छ’ भन्दै ‘दासढुंगा दर्पण’ किताब पनि दिएँ । लामाले आफूमाथि लागेको आरोप खण्डन गर्न लागि लेखेको किताब थियो यो । यो पात्र र घटनाबारे धेरै कुरा थाहा पाउन खासगरी मलाई यही पुस्तक नै विशेष उपयोगी बन्यो । अमर लामा कसरी बोल्छन्, लवज कस्तो थियो भन्ने मलाई थाहा नै थिएन । तर, एकजना साथी थिए, राजु लामा जसले उनले भेटेका रहेछन् । एकदमै ‘कुल’ तरिकाले बोल्नुहुन्छ भनेर सुनाउनुभयो उहाँले । उहाँलाई सुनेर केही अनुमान लगाएँ । सोधपुछका दृश्यहरुमा धेरै जवाफहरु मैले उनले लेखेको पुस्तककै आधारमा दिएको हो । फिक्सन फिल्मभन्दा यथार्थ कथामा बनेका फिल्मका यथार्थ पात्रलाई पर्दालाई बाँच्न झन् कठिन हुन्छ । दुनियाँले त्यो पात्रलाई जसरी हेरुन्, नेगेटिभ भनुन् या पोजिटिभ तर मैलेचाँही पात्रप्रति आग्रह–पूर्वाग्रह केही राख्नुहुँदैन भन्नेमा म निकै सचेत थिएँ । सुटिङकै क्रममा पोखरा जाँदा हरि पाण्डको श्रीमती रुनुभएको दृश्य म अझै सम्झिरहन्छु । पाण्डे दाइको घरमा घटना भएको दिन बिहानको खाना खाइसकेपछि मदन भण्डारी, जीवराज आश्रित र अमर लामा चितवनतिर हिँडेका थिए । त्यही घरमा छायांकन सकेपछि हामी खाना खाँदै थियौं । त्यतिबेला हरि पाण्डेको श्रीमती निन्याउरो मुख बनाउँदै मलाई हेरेर रुनुभयो । उहाँले रुँदै रुँदै मलाई भन्नुभयो, ‘मलाई त तपाईले देख्दा अमर लामा नै अगाडी आए जस्तो भयो ।’ त्यसपछि उहाँले अझै विस्तृतमा अमर लामाबारे भन्नुभयो । त्यो सुनिसकेपछि ममा झन् आत्मविश्वास बढ्यो । म पात्रसँग नजिक हुँदै गएको अनुभुत भयो । देखिँदा त दासढुंगा दुघर्टना हो तर अमर लामाकोचाँही हत्या नै हो । दिदीको कुरा सुनेपछि मैले पात्रलाई न्याय गर्न सकिरहेको महसुस भयो । मेरो जीवनमा एक्टर बन्नको लागि खास आकार दिएको क्यारेक्टर हो, अमर लामा । आफ्नो तर्फबाट इमान्दार प्रयत्न गरेको पात्र हो यो । त्यसैले सधैँ प्रिय लाग्छ ।
कमरेड कोशिष–गंगाबहादुर लामा (फिल्म–तान्द्रो)
माओवादी कार्यकर्ता गंगा बाहादुर लामा उफ कमरेड कोशिषको जीवनको संघर्षको एउटा च्याप्टरमाथि बनेको फिल्म थियो हो । यो फिल्ममा पनि मैले ‘दासढुंगा’जस्तै एउटा रियल पात्रकै भूमिका निर्वाह गरेको छु । कमरेड कोशिषको भूमिकामा छु । फिल्म मूख्यतः लामाले नै लेखेको ‘स्मृतिका डोबहरू’ किताबको एउटा च्याप्टरमा केन्द्रित छ । पार्टीको कामका सिलसिलामा २०६० सालतिर लमजुङ तात्कालिन शाही सेनाको आक्रमणमा गोली लागेर घाइते भएपछि उनले बाँच्नका लागि गरेको ९६ घन्टाको कठिन संघर्षमा आधारित छ फिल्म । गोली लागि घाइते बन्छन् । उपेन्द्र सुब्बामार्फत मलाई निर्देशक साम्तेन भुटियाले यो फिल्मका लागि प्रस्ताव गरेका थिए । पात्र निर्वाह गर्नुअघि पुस्तक पढेपछि मैले गंगा दाइलाई भेट्न गएँ । उहाँका जीवनका संघर्षदेखि राजनीतिक विषयमा समेत गफ भए । आफूमाथि फिल्म बन्दैछ भनेर निकै उत्साहित हुनुहुन्थ्यो उहाँ । उहाँको लामो संघर्ष सुनिसकेपछि मैले दाइलाई भनेँ– ‘दाई तपाईले बाँचेको जीवन म बाँच्न त सक्दै सक्दिनँ तर तपाईको घटनालाई नजिक राखेर म आफू बाँच्ने कोशिषचाँही गर्छु ।’ त्यसपछि दोश्रो पटक उहाँलाई नभेट्ने निर्णय गरेँ । निर्देशकलाई भनेँ– ‘अब म उहाँलाई भेट्दिन । भेटेँ भने म बायस्ड हुनसक्छु । पात्रप्रति धेरै माया जाग्न सक्छ । पात्रलाई सन्तुलित र न्याय दिलाउन पनि मैले भेटिरहनुहुँदैन ।’ यो फिल्मको सुटिङका क्रममा मैले कुकुर, कमिला फट्याङ्गा सबैसँग अभिनय गर्नुपरेको थियो । सकसपुर्ण नै थियो काम । सुटिङ हेर्न आउने गाउँका स्थानियले नै ‘धेरै रिटेक नगर्नु, भयो अब, उहाँलाई गाह्रो भइसक्नुभयो’ भन्नुहुन्थ्यो । ति दृश्यहरु मलाई अझै याद छ । प्राविधिक कारणले गर्दा मलाई गोली लागेको, लडेको घिस्रेको, कुकुर आएको, फट्यांग्रासँग लडेको, भिरबाट खसेको सबै दृश्यहरु रिटेक गर्नुपरेको थियो । घुँडामा गोली लागेपछि ज्याकेटको चेन च्यातेर खुट्टा बाँधेको सिन छ । त्यो सिनमा मैले चेन यति कडासँग बाँधेछु कि घुँडामुनि ब्लड सर्कुलेसन नै हुन सकेन । त्यतिबेला महसुस गरेँ– पक्कै गंगा दाइलाई नै यस्तै भएको थियो । पात्रसँग नजिक हुन मलाई झन उर्जा मिल्यो । गंगा दाईको विगत, जनयुद्धमा लाग्नुको कारण, त्यसपछिको संघर्ष साँच्चै प्रेरणादायी छ । त्यो सबै कुरा उहाँको पुस्तकमा छ । तर, यो फिल्मचाँही त्यो ९६ घटनाको एउटा घटनामाथि मात्रै बनेको थियोे । फिल्म हेरेपछि मैले दाईलाई सोधेको थिएँ– कस्तो लाग्यो फिल्म ? केहीबेरको मौनतापछि जवाफमा उहाँले भन्नुभयो– ‘म त झल्झली विगत याद आयो, साँच्चै यस्तै भएको थियो । ’ मैले फेरि पनि दो¥याए– ‘त्यस्तो होइन दाइ । तपाईको जीवन त म बाँच्न सक्दै सक्दिनँ ।’ यो फिल्म रिलिज पछि उहाँले आफ्नै संस्मरणिय पुस्तकका लागि भूमिका लेखिदिन आग्रह गर्नुभएको थियो । सायद लेखे पनि होला या लेख्न जानिनँ होला, तर उहाँलाई दिन सकिनँ । त्यहीकारण मन दुखाउनुभएको जस्तो लाग्छ, यहीँबाट दाईलाई ‘सरी’ पनि भन्न चाहन्छु ।
काजी (फिल्म– कबड्डी सिरिज )
आफु हुर्किएको भन्दा एकदमै फरक संस्कृतिमा हुर्किएको पात्र हो– काजी । लेखपढमा कमजोर यो पात्रलाई स्क्रिप्टमा हेर्दा मैले किताबसँग सहज महसुस नगर्ने मेरा समकालिन जनजाती साथीहरुलाई सम्झिएँ । ति साथीहरु जसले आफ्नो बोल्ने भाषा र लेख्ने भाषा फरक भएका कारण पुस्तकसँग सहज महसुस गर्न सकेनन् । उदाहरणका लागि, हामीले लेख्दा ‘आउँछौं है’ लेख्छौं तर हाम्रोतिर बोल्दाचाँही ‘आउँछुङ है’ हुन्छ । पुस्तकमा व्याकरण एउटा छ, हाम्रो बोलिचालीको व्याकरण अर्कै छ । त्यही भएर सहज महसुस हुन्थेन । ‘कबड्डी’को काजीले पनि सायद त्यही भएर पढेन होला भन्ने महसुस गरेँ । तर, थकाली समाजमा मुखियाको छोरा भएर होला, उसमा अहम्चाँही छ । यो फिल्ममा त्यहाँको भाषा ठ्याक्कै बाल्न सक्दिनँ भनेर सुरुमै भनेको थिएँ, निर्देशकलाई । कलाकारका रुपमा उस्तै बोल्न खोज्दा क्यारिकेचर हुन्छ भन्ने मेरो बुझाई हो । त्यसैले मचाँही खासगरी पात्रको मनोविज्ञान, उसले सोच्ने शैली आदिबारे बढी होमवर्क गर्छु । सुरुमा यो फिल्म गर्दैगर्दा मैले बाइक चलाउनुपर्ने दृश्य थियो । मलाई बाइक चलाउन आउँदैनथ्यो । त्यसैले सिधँै बनेको थियो– बाइक चलाउनुप¥यो भने म फिल्म खेल्दिनँ । बाइक चलाउन आउने विजय बराल थिए । पछि निर्देशकले उसैलाई चलाउन दिएका हुन् । यो फिल्म र काजी पात्रका लागि करिब दुइ वर्ष छलफल भएको थियो । सांस्कृतिक हिसाबले सोच्दै जाँदाखेरी थकालीहरुको जहाँ मृत्यु भएपनि अन्त्यमा उसको अस्तु थाक खोलामै ल्याउनुपर्ने रहेछ । सोल्टिनी मनपराइहाल्ने काजीको बानी । प्रेम गर्नु एकातिर होला, काजीचाँही त्यसलाई अधिकारजसरी सोल्टिनीप्रति मोह बढाउँथ्यो । आफूसँग दुइजना साथी अनिवार्य । निर्णय गर्ने क्षमता नभएर होला साथीहरुचाँही चाहिने । प्रेम पनि यसरी गर्छ तर केटीको निर्णय आइसकेपछि उसले स्वतन्त्र छाडिदिन्छ । यो पात्रबारे स्क्रिप्ट निर्देशकमा सटिकमा लेखेका थिए । जस्तो कि, काजी प्वाक्क पर्छ, काजीलाई ऐठन हुन्छ..आदि । तर, कसरी पर्छ त ऐठन ? म अलमलमा हुन्थे । फिल्ममा काजीले दुइटा हात कन्सिरीमा लगेर कपाल उब्ज्याउने सिग्नेचर पोज नै बन्यो । तर, खासमा जतिखेर उसलाई तनाव हुन्छ, त्यतिबेला त्यस्तो गर्ने बनाएको थिएँ । आफ्नै पारामा बाँचिरहने ‘काजी’ पात्रचाँही आम मानिसहरुले नजिकबाट देखेभोगेको जस्तो लाग्छ । त्यहीकारण पनि मलाई प्रिय लाग्छ । सायद दर्शकहरुलाई पनि ‘कबड्डी’ सिरिज त्यहीभएर मनप¥यो ।
चन्द्र (फिल्म–ह्वाइट सन ‘सेतो सूर्य’ )
सुरुमा निर्देशक दिपक रौनियारले यो फिल्मको स्क्रिप्ट पठाउँदा म यो पात्र निर्वाह गर्न सक्छु जस्तो नै लागेन । स्क्रिप्ट पढेपछि र पात्रबारे दुइतीन दिन सोचेपछि मलाई त्यस्तै अनुभुत भयो । सरर एकपटक हेर्दाखेरी पात्र पुरै नेगेटिभजस्तो देखियो । पछि फेरि पढ्दा पात्रलाई अर्कै तहमा भेटिन्छ । अजिब किसिमको पात्र छ योे । यो पात्र निर्वाह गर्दा धेरै कुरा त मैले नसकेरै ‘मिस’ गरेजस्तो लाग्छ । मैले गर्नैपर्ने भए पात्रको तयारीका लागि केही समय दिनुपर्ने प्रस्ताव राखेँ । त्यसपछि निर्देशकले फिल्म पक्का गर्नका लागि १५ दिनको समय दिनुभयो । ब्राहमण परिवारको जेठो छोरो हो ऊ । तर, आमा जनजाती भएकाले उसको अनुहार जनजातीजस्तै छ । खासमा फिल्म र यो पात्रले धेरै बिम्बहरु बोकेको छ । सिधा तरिकाले हेर्दा जनयुद्धमा हिडेको युवा देखिन्छ । जनयुद्धबाट हिडेर थाकेको जस्तो पनि देखिन्छ । धेरैपछि बाउ बितेको खबर आएर गाउँ फर्केको छ । लामो समय जनयुद्धमा हिँडेर नेतृत्वसँग विद्रोह गरेपछि थकित छ । । बुबा कट्टर राप्रपा पार्टीमा आबद्ध छ । भाइ सेनामा आबद्ध छ । उ जनयुद्धमा होमिएको छ । पात्र नै रहस्यमयी लागेको हो मलाई । न्याय दिनका लागि निकै मिहेनत गरेको तर पुर्ण रुपमा सन्तुष्ट हुन नसकेको पात्र हो यो मेरा लागि । यो फिल्मले मलाई अन्तराष्ट्रिय बजारसम्म स्थापित ग¥यो । विश्व चर्चित भेनिष फिल्म फेस्टिभलसम्म पु¥यायो । विदेशी फिल्ममेकर्स र दर्शकहरुसँग अन्तरक्रिया भयो । उनीहरुले पात्रको विविध आयाम, प्रक्रिया र तहबारे कोट्याइ कोट्याइ सोध्दाखेरी बहुत आनन्द लागेको थियो । यो फिल्म लिएर विभिन्न चर्चित फेस्टिभल र देशहरु पुगेँ । कहिल्यै हेर्दा पनि यो फिल्म बासी लाग्दैन जस्तो लाग्छ । त्यसैले पनि मलाई प्रिय लाग्छ यो फिल्म र मैले निर्वाह गरेको चन्द्र पात्र ।
नाम्साङ (फिल्म–जारी)
लिम्बूवानको जनजीवन र संस्कृतिमा आधारित छ यो फिल्म । लिम्बू समाज कुन विश्वासमा बाँचेको थियो, कसरी चलेको थियो र अनि उसको आस्था के थियो, फिल्ममा त्यो देखाउन खोजिएको छ । साथमा प्रेम के हो र लिम्बू समुदायमा महिलाहरूलाई कत्तिको सम्मान गरिन्छ भन्ने पनि फिल्मले देखाउँछ । निर्देशक उपेन्द्र सुब्बाले अन्तिम समयमा आएर फिल्मको स्क्रिप्ट दिनुभएको थियो । जब पढेँ, बहुत रमाइलो लाग्यो । छुट्टिसकेपछिको श्रीमान् श्रीमतिबीचको प्रेम फिल्ममा छ । बोल्दा झगडा हुन्छ, नबोल्दा प्रेम । मौनतामै प्रेम, बडो रमाइलो छ । सुरुमा यो फिल्मको नाम युपारुङ राखिएको थियो । यो लिम्बु नाम हो । नेपालीमा सिक्का भनिन्छ । विवाहमा युपारुङ साटेपछि विवाह हुन्छ । त्यो फिर्ता दिइसकेपछिचाँही विवाह टुट्छ । सिक्का फाल्दाखेरी जसरी बतासिएर बस्छ, मैले पात्रको इमोसन्सलाई त्यही सम्झेर निर्माण गरेँ । सिक्काजस्तै परिस्थितीअनुसार पात्रको मुड बदलेँ । अन्तिममा पालम भन्दाको दृश्य म सक्दिनँ होला भन्ने लागेको थियो । बिग्रियो भने डबिङबाट मिलाउँला भनेर अनुहार लुकाएर भनेको थिएँ । खासमा त्यो मेरो चलाखी थियो, पछि रमाइलो भएछ । यो फिल्ममा जुन घर मेरो छ, रियलमा त्यो निर्देशक उपेन्द्र सुब्बाको घर हो । पाँचथरस्थित उहाँकै घरमा फिल्मको सुटिङ गरिएको थियो । खासमा यो पात्रलाई मैले धेरै योजना नबनाइकन निर्वाह गरेको हो । सिक्काको बत्तिने प्रक्रियालाई टिपेर पात्रलाई त्यसैगरी ढालेको यो पात्र छोटो समयमै निर्माण गरेको पात्र थियो । नजानिँदो तरिकाले निर्माण भएको पात्र थियो । दर्शकले पनि निकै रुचाए । सायद त्यही कारणले पनि मलाई असाध्यै प्रिय लाग्छ । व्यवसायिक हिसाबले हिट नभएको भएपनि मलाई यो पात्र प्रिय नै लाग्थ्यो ।