बैंकक, थाइल्याण्ड । प्रवासी नेपालीहरूको साझा साहित्यिक र सांस्कृतिक मञ्च ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित भर्चुअल कार्यक्रम ‘आदर्श दिव्य दर्पण’ को १२ औँ शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ। सन् २०२६ मार्च २ का दिन अनलाइन माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा ‘फागुपूर्णिमा : रङ, उत्सव र सद्भावको पर्व’ विषयक विशेष प्रवचन दिइएको थियो।
कार्यक्रममा प्रमुख प्रवचक एवं आध्यात्मिक चिन्तक चैतन्य कृष्णले फागुपूर्णिमाको शास्त्रीय र सामाजिक महत्त्वबारे गहन प्रकाश पार्नुभयो। उहाँले फागुपूर्णिमा (होली) केवल रङ खेल्ने पर्व मात्र नभई यो अधर्ममाथि धर्मको र खराबमाथि सत्यको विजयको प्रतीक भएको बताउनुभयो। प्रवचनका क्रममा उहाँले फागुपूर्णिमाको पौराणिक पृष्ठभूमि, यससँग जोडिएका कथाहरू र नेपाली समाजमा यसले बोकेको सांस्कृतिक सन्देशबारे विस्तृत व्याख्या गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरू र प्रमुख प्रवचकबीच जीवन्त अन्तरक्रिया समेत भएको थियो। सहभागीहरूले फागुपूर्णिमाको आधुनिक सान्दर्भिकता र यस पर्वलाई मनाउँदा ध्यान दिनुपर्ने पक्षबारे राखेका विभिन्न जिज्ञासाहरूको जवाफ चैतन्य कृष्णले दिनुभएको थियो। उहाँले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाउन साहित्य मन थाइल्याण्डले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो।
साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सफल सञ्चालन सहजकर्ता रविचन्द्र अधिकारीले गर्नुभएको थियो। अध्यक्ष न्यौपानेले कार्यक्रमको समापन गर्दै प्रवासमा रहेका नेपालीहरूलाई जोड्न र आफ्नोपनको आभास गराउन यस्ता वैचारिक र सांस्कृतिक कार्यक्रमहरूले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, सहभागीहरू र प्राविधिक टोलीलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्नुभयो।
प्रविधिको प्रयोग गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा समेटेर मनाइएको यो होली विशेष कार्यक्रमले वैदेशिक भूमिमा नेपाली कला र धर्म-संस्कृतिको संवर्द्धनमा थप इँटा थपेको छ।
संवाददाता





