प्रश्नबाट भागिरहेको एनआरएनए थाइल्याण्ड, सदस्यहरुलाई फेरि पनि ठूलो धोका

लोकेन्द्र ओली
5 मिनेटमा पढ्न सकिने
5 मिनेटमा पढ्न सकिने

सुधारको चाहना राखेर आएका बहुसंख्यक सदस्य नेतृत्वसँग रुष्ट

बैंकक २ असार

पटक पटक विवाद र प्रश्नको घेराबाट गुज्रिँदै आइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले फेरि एकपटक आफ्ना सदस्यहरुसँग धोकाधडी गरेको छ । संघको नेतृत्व र पदाधिकारीहरु विभिन्न काण्डमा मुछिने र वेथितिको चाङमा बसेर संस्थाको छविमै प्रश्न उठ्ने वातावरण बनेको बेला आइतबार पनि संस्थाले सुधारको ठूलो अपेक्षा बोकेका सदस्यहरुलाई निराश बनाएको छ । एनआरएनए थाइल्याण्ड र यसको नेतृत्व सदस्यहरुको प्रश्न, अपेक्षा र सुधारको आकांक्षाबाट भागेको छ । आम सदस्यहरुको चाहनालाई तिलाञ्जली दिएर नेतृत्वले पुरानै रवैया बैंककमा दोहोर्याएको छ ।

एनआरएनए थाइल्याण्डले आइतबार बैंकको फारखानोंग स्थित होप ल्याण्ड होटलमा बृहत् सामूहिक अन्तरक्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा पाँच एजेण्डा थिए । नेपाल राज्यको प्रतिनिधित्वका रुपमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली पनि सहभागी थिए ।

पाँच एजेण्डामा पहिलो थाइल्याण्डमा भएका सबै संघ संस्थाहरूका पदाधिकारीहरु सँग परिचयात्मक कार्यक्रम, दोस्रो थाइल्याण्डमा रहेका सबै सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै गर्दा कहिले काँहि कार्यक्रमहरू एकै समयमा जुध्ने गरेको हुँदा क्यालेन्डरको तय, तेस्रो पछिल्लो समय नेपाली मन्दिरको विषयमा गरिएका र सुनिएका टिक्का टिप्पणीहरुका बारेमा गहन छलफल र विवादको निदानको खोज गर्ने, चौथो गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डको सदस्यताका विषयमा छलफल र सहमतिजन्य निर्णय गर्ने र अन्तिम थियो, एनआरएनए थाइल्याण्डको युथ फोरमले गर्न लागेको कार्यक्रमसँग सम्बन्धित सबै नेपाली र विदेशी मूलका नेपाली विद्यार्थीहरु बीच सहकार्य र भविष्यमा गरिने कार्यक्रमको कार्य योजना सम्बन्धी जानकारी गराउने ।

नेपाल र नेपाली संघसंस्था सँग सम्बन्धित थुप्रै विषयमा छलफल र अन्तरक्रिया हुने भएपछि रोजगारीका लागि, अध्ययनका लागि पुगेका नेपाली नागरिकहरु टाढाटाढाबाट बैंककमा भेला भएका थिए । एनआरएनए थाइल्याण्डले एजेण्डाहरु नै पठाएर पर्याप्त छलफल हुने भन्दै उपस्थित हुन आह्वान गरेको थियो । तर, जब एनआरएनए थाइल्याण्डको नेतृत्वको भनाइ र गराइमा फरक देखियो त्यसपछि सदस्यहरु निराश भए । टाढाबाट आएका सहभागीले धोका भएको महसुस गरे ।

बृहत अन्तरक्रिया भनिएको कार्यक्रममा भाषणबाजी मात्रै भयो । संस्थाका अगुवाले बोल्ने र अरुले सुनेर ताली बजाउनेमा कार्यक्रमलाई सीमित गरियो । फ्लोरबाट उठेका सहभागीहरुको जिज्ञासलाई निमोठियो । नेतृत्वले हतार हतार कार्यक्रम नै समापन गरिदियो । प्रश्न, जिज्ञासा र सुझावहरु बोकेर आएका सहभागी सदस्यहरुले त्यसलाई मुखरित गर्ने अवसर पाएनन् । प्रयास गर्दा नेतृत्वले हस्तक्षेप गरेर वञ्चित गर्यो । ‘न प्रश्न थियो । न उत्तर थियो । खाली भाषण थियो । ब्यानरमा बृहत अन्तरक्रिया भनियो । व्यवहारमा भाषण सुनाउने थलो बनाइयो । हामीलाई झुक्याइयो,’ सहभागी एक सदस्यले भने । उनकाअनुसार कार्यक्रममा अन्तरक्रिया नै हुन पाएन । फ्लोरबाट उठ्ने प्रश्नको सामना गर्न नेतृत्व डरायो । कार्यतालिकामा प्रवेश गर्न मानेन । छलफल नै गर्न मानेन । विषयवस्तुमा प्रवेश नै नगरि कार्यक्रम समापन गरियो । सहभागीले बोल्न खोज्दा सुनुवाइ नै गरेन । भाषण सुनाउन बोलाए जस्तो गरे ।

रोचक त के भयो भने आम नेपालीको प्रतिनिधित्व गरेका राजदूत वलीले पनि अभिभावकीय भूमिका खेलेनन् । नेतृत्वको मनोमानी र वाक स्वतन्त्र कुण्ठित गर्ने कदममा मौन समर्थन गरेर मुकदर्शक बनिरहे । संस्थाको कुरा संस्थाभित्रै मिलाउनुपर्छ भनिदिए । जबकी कार्यक्रमको एजेण्डामा संस्थाको विषयमा छलफल गर्ने भनिएको थियो ।

नेतृत्वले कुरा नराख्न नदिएपछि सहभागीहरु रुष्ट बनेका छन् । बृहत अन्तरक्रिया भनेर गफ दिएर झुक्याएको उनीहरुको गुनासो छ । ‘बोल्न खोज्दा माइक नै दिन चाहेनन् । कार्यसूची किन मोडियो भन्दा जवाफ दिएनन् । संघसंस्थाको विषयमा ब्रिफिङमात्रै गरे । टाढाबाट आएका साथीहरु रिसाए । आफ्ना कुरा राख्न पाएनन् । जवाफ पनि पाएनन्,’ एक सदस्यले भने । बृहत् अन्तरक्रियामा एनआरएनए थाइल्याण्डका सदस्यहरु, थाइ नेपाली संघ, त्रिनाथ थाइ नेपाली संघ, गुरुङ मगर समाज, पीएनओका पदाधिकारीका साथै राजदूत र दूतावासका कर्मचारी थिए । अन्तरक्रिया भनिएको कार्यक्रममा संस्थाका अगुवाले भाषण दिएर कार्यक्रम समापन गरिएको थियो । थाइल्याण्डका सबै संघसंस्थासँग परिचयात्मक कार्यक्रम भनिए पनि कार्यक्रममा कुनै परिचय नै गरिएन । जसका कारण थाइल्याण्ड नेपालको नेतृत्वको भनाइ र गराइमा तालमेल नमिलेपछि आलोचना सुरु भएको छ । यस बारेमा एनआरएनए थाइल्याण्डका अध्यक्ष भबिन्द्र बस्नेले प्रतिक्रिया दिन चाहेनन् । त्यसो त उनको टिम सदस्यहरुको प्रश्नबाट भाग्दै आइरहेको छ । जुन आजको कार्यक्रममा पनि देखिएको छ ।

सेयर: 185
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
1
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ