बैंकक । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले आपसमा अस्वस्थ प्रतिस्पर्धा नगर्न नेपाली संघसंस्थाहरूलाई आग्रह गर्नु भएको छ । थाइल्यान्डमा गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइ नेपाली संघ (टिएनए), त्रिनाथ थाइ नेपाली एसोसियसन, पिपुल अफ नेपाली ओरिजिन (पीएनओ), एससोसिएसन अफ नेपाली ओरिजिन (एएनओ), थाई नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरू आपसमै प्रतिस्पर्धामा भिडिरहेका बेला राजदूत वलीले सहकार्य र सद्भाव कायम गरेर अघि बढ्न अपिल गर्नु भएको हो ।
आपसमै भिडिरहे दूतावासले सहकार्य गर्न नसक्ने उहाँको चेतावनी थियो । `नेपालीहरूले सबै ठाउँमा प्रगति गरिरहेका छन् । एआइटीमा १६ जना टप इन्जिनियरमध्ये ६ जना त नेपाली छन् । जहाँ पनि नेपालको नाम राखेका छन् ।
तर, हामी टिएनए, एनआरएन, मन्दिर समूह भनेर अलग अलग हिँडिरहेका छौं,´ संस्थाका प्रतिनिधिलाई आफ्नै निवासमा रात्रिभोजमा बोलाएर राजदूत वलीले भन्नुभयो । सबै संस्थाले एउटै समयमा कार्यक्रम गर्ने, कार्यक्रम जुधाउने गरेकोमा असन्तुष्टि जनाउँदै राजदूत वलीले जुधाएर गरिएका कार्यक्रममा राजदूतावास उपस्थिति नहुने उहाँको चेतावनी थियो ।
`हाम्रो मूल एउटै हो भने नेपाली संस्थामा किन भिन्नता ? किन सहकार्य नहुने ?´ उहाँले प्रश्न गर्नु भयो, `त्यसैले सद्भाव बढाउनुपर्छ ।´ एनआएन र टिएनएको आ-आफ्नो हैसियत र प्रतिष्ठा रहेको भन्दै राजदूत वलीले आपसमा प्रतिस्पर्धा होइन सहकार्य गरेर नेपाली भाषा संस्कृति प्रवर्द्धन गर्न आह्वान समेत गर्नु भयो ।
`जहाँ नेपाली छन्, त्यहाँ राजदूत छ । त्यसैले आपसमा प्रतिस्पर्धा नगरौं । मेरो अनुरोध छ´उहाँले भन्नु भयो, `हाम्रा विद्यार्थी राम्रा विश्वविद्यालय, राम्रो जागिर कसरी दिने भनेर सबै संघसंस्था सँगै जोडिनुपर्यो ।´
राजदूत वलीले नेपाली नागरिक तथा नेपाली भाषीको उत्थानका लागि काम गर्न सुझाव दिनुभयो । `अब नेपाली मुलका जातका मान्छेले उद्यमी कसरी बन्ने, कसरी उन्नति गर्ने, के गर्दा राम्रा डाक्टर बनाउने, टेलरिङ गर्नेले कहिले उत्पादन गर्ने, भाषा साहित्य कसरी प्रवर्द्धन गर्ने भन्नेमा ध्यान दिनुस्,´ उहाँले भन्नुभयो ।
राजदूत वलीले थप्नु भयो, `माटो, वनजंगल र भुगोलमात्र नेपाल होइन जहाँ हामी छौं, नेपाली छौं, त्यहाँ नेपाल छ । नेपालीले राम्रो गरे राम्रो, नराम्रो गरे नराम्रो भन्छ । त्यसैले आउँदो पुस्तालाई कसरी सिर्जनशिलता प्रदान गर्ने भन्नेतिर लागौं ।
आपसमा गलत प्रतिस्पर्धा नहोस्, हार्दिकता होस् । नेपाली समाजलाई कसरी सभ्य र सिर्जनशील बनाउने भनेर जुटौं ।´ थाइल्यान्डमा रहेका नेपालीले नेपालमै पढ्न रुचि गरेको भन्दै राजदूत वलीले पढ्ने वातावरण बनाउन सरकारी च्यानलमा प्रयत्न भइरहेको जानकारी दिनुभयो।
उहाँले भाषा, साहित्य र संस्कृतिमा जोडिन अनुरोध गर्दै भुगोलको राजनीति गर्न नमिल्ने स्पष्ट पार्नु भयो । `पारिवारिक संस्कार बचाइराख्नुस् ।
मूल्य मान्यता बचाउनुस्,´ उहाँले भन्नुभयो, `नेपालको भुगोल र राजनीति तिर नलाग्नुस् ।´ कार्यक्रममा नेपाली संस्थाका प्रतिनिधिहरू, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति, दूतावासका अधिकारी, सञ्चारकर्मी सहभागी थिए ।