काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग यथावत् राख्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग यथावत राख्ने निर्णय गरेको हो ।
बैठकले भोलि बस्ने प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्णय भने भोली बस्ने संसदीय दलको बैठकले गर्ने एक नेताले बताए । कांग्रेसले भोलि बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ ।
त्यही बैठकबाट संसद्मा आफ्नो भूमिका प्रस्ट गर्ने जनाएको हो । कांग्रेसको आजको बैठकमा राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदबारे पनि छलफल भएको छ । त्यस्तै निजामती कर्मचारी विधेयकलगायत विषयमा पनि छलफल भएको नेताहरुले जनाएका छन ।

