तुलसीपुर । दाङको बबई गाउँपालिका वडा नं.४ सुन्दरखाल स्थित सिद्ध गणेश प्रावि सुन्दर खालमा बुधबार विद्यार्थीहरु पढ्न भने विद्यालय आए । तर, दिनभर पढाई भएन । विद्यालय परिसरमा हतियार सहितका प्रहरीले सुरक्षा दिइरहेका थिए । त्यसले विद्यार्थीको मनोविज्ञानमा झनै असर गरेको थियो ।
विद्यालयमा स्थानीय पुरन्धारा स्किम नम्बर १ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन भएको थियो । मंगलबार सार्वजनिक विदाका दिन निर्वाचन भएपनि विवादका कारण मतगणना नहुँदा सोही ठाउँमा पठन–पाठन समेत अबरुद्ध भएको हो । मंगलबार दिउसो २ गते मतदान कार्य सकिएको थियो ।
४ बजेसम्म मतदानकालागि समय तोकिएको भएपनि सबै मतदाताले मतदान गरपछि सबै प्रक्रिया पु¥याएर मतपेटिकालाई बन्द गरि राखिएको थियो । त्यसपछि राजनीतिक दलहरुले मतगणनाकालागि सहमति गर्ने क्रममा एमाले र काँग्रेसको अर्को समूहको गठबन्धनले नमानेपछि मतगणना कार्य स्थगित भएको थियो ।
जहाँ माओवादी केन्द्र र काँग्रेसको एक समूह निर्वाचनमा थियो, भने अर्को तिर एमाले र काँग्रेसको अर्को समूह थियो । ति मध्ये एमाले र काँग्रेसको अर्को समूहले निर्वाचन बहिस्कार गरेपछि स्थगित भएको मतगणना कार्य बुधबार साँझसम्म पनि सुरु हुन सकेको छैन ।
मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदान भएको भन्दै उनीहरुले ति मतपत्र गणना गर्न नहुँने भनेका छन् । विहान केही मतदान भएपछि विवाद भएको थियो । विवाद पछि करिब आधार घण्टा मतदान कार्य रोकिएको थियो ।
मतदान रोकिएपछि पुनः सूचारु हुने क्रममा एक मतमा हस्ताक्षर नगरेको भेटिएपछि त्यही कुरालाई ‘इश्यू’ बनाएको स्थानीय मतदाता मार्सल जीसीले बताउनुभयो । “एउटा मत त्यस्तो भेटिएको थियो”,उहाँले भन्नुभयो“त्यसैलाई इश्यु बनाएर उहाँहरु मतगणना कार्यलाई बहिस्कार गर्नुभयो ।”
मतगणना कार्य रोकिएपछि त्यो विद्यालयको पठन–पाठनमा असर गरेको छ । विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर वलीका अनुसार शिक्षकहरुको अफिसमा मतपेटिका राखिएकाले पनि पठन–पाठन कार्य अवरुद्ध भएको हो ।“अफिस प्रयोग नगर्नुपर्ने हो”,उहाँले भन्नुभयो“अफिस प्रयोग गर्दा पनि पठन–पाठनलाई असर गरेको हो ।” विद्यालयमा खोप कार्यक्रम पनि थियो ।
त्यो पनि प्रभाबित भएको छ । सोही विद्यालयमा ८७ जना विद्यार्थी रहेका छन् । जहाँ कक्षा ४ सम्म सञ्चालित छ । निर्वाचन समितिका संयोजक गुमानसिंह जीसीका अनुसार शान्तिपूर्ण तरिकाले निर्वाचन भएको र प्रक्रिया पु¥याएर मतपेटिकालाई सिल गरेको भएपनि गणना गर्ने क्रममा विरोध हुँदा यस्तो समस्या रहेको हो । सोही खानेपानीमा १८६ जनाले मतदान गरेका थिए ।