बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा बालबालिकामाथि गम्भीर शारीरिक र मानसिक यातना दिइएको घटना सार्वजनिक भएको छ। थाइ नेपाली संघ (TNA) अन्तर्गत सञ्चालित उक्त विद्यालयका एक शिक्षकले साना बालबालिकाहरूलाई फलामको लौरो र अन्य घरेलु वस्तुहरू प्रयोग गरी निर्दयी रूपमा कुटपिट गरेको आरोप लागेको छ। प्राप्त जानकारी अनुसार ती शिक्षकले बालबालिकाहरूलाई कुटपिट गर्ने मात्र नभई “यो कुरा कसैलाई भनेमा गम्भीर परिणाम भोग्नुपर्ने” भन्दै डर र धम्की समेत देखाउने गरेका थिए। लामो समयसम्म त्रसित बालबालिकाहरूले यो पीडा लुकाउँदै आए तापनि अभिभावकहरूले छोराछोरीको शरीरमा नीलडाम र चोटपटक देखेपछि तथा उनीहरूको व्यवहारमा अस्वाभाविक परिवर्तन पाएपछि सोधपुछ गर्दा यो दर्दनाक वास्तविकता बाहिर आएको हो।
यस विद्यालयमा अध्ययनरत १०० भन्दा बढी बालबालिकाहरूमध्ये अधिकांश थाइल्याण्डमा श्रम गरिरहेका म्यानमार मूलका नेपाली श्रमिकका सन्तानहरू हुन्। घटनाको प्रकृति हेर्दा बालबालिकाको सुरक्षामा गम्भीर लापरबाही भएको देखिन्छ। यसैबीच, विद्यालयको आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठेको छ। अभिभावकहरूका अनुसार विद्यालयले प्रति विद्यार्थी १,००० देखि २,००० थाई भाटसम्म भर्ना शुल्क लिने गरेको छ र उक्त रकम बैंकमार्फत नलिई केवल नगदमा मात्र बुझ्ने गरिएको छ। यसका साथै थाइ नेपाली संघ (TNA) ले विभिन्न क्षेत्रमा रहेका श्रमिकहरूबाट समेत विभिन्न बहानामा रकम सङ्कलन गरिरहेको गुनासोहरू प्राप्त भएका छन्।
यस गम्भीर विषयलाई लिएर श्री त्रिनाथ देवालय धाम ले एक आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्दिर व्यवस्थापनले बालबालिकाको सुरक्षा र अभिभावकहरूको मानसिक शान्तिलाई सर्वोपरि मान्दै, हाललाई विद्यालय सञ्चालनका लागि दिइएको अनुमति र स्थान प्रयोगमा पूर्ण रोक लगाएको स्पष्ट पारेको छ। मन्दिर प्रशासनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ। हाल पीडित अभिभावकहरूले दोषी पक्षविरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा उजुरी दिने तयारी गरिरहेका छन् भने स्थानीय नेपाली समुदायले यस घटनाको कडा भर्त्सना गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

