बैंकक, थाइल्याण्ड । साहित्य मन थाइल्याण्डले आयोजना गरेको विशेष गजल श्रृंखला “आदर्श दिव्य दर्पण” (श्रृंखला–दुई, अनलाइन) गत भाद्र ७ गते (अगष्ट २३, २०२५) का दिन भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ओमप्रकाश न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन दीपा रानाले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डा. घनश्याम न्यौपाने परिश्रमीले “सिद्धान्त छन् पुराना दर्शनहरू पुरानै…” शीर्षक गजल प्रस्तुत गर्दै मन्तव्य व्यक्त गर्नुभयो। विशिष्ट अतिथि डा. देवी पन्थीले पनि आफ्नो मन्तव्य राख्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाउनुभयो।
अनलाइनमार्फत सम्पन्न यस साहित्यिक कार्यक्रममा विभिन्न देशका स्रष्टाहरूले आ–आफ्ना गजल प्रस्तुत गरेका थिए। नेपालबाट नारायण नेपालले “बोल्न नपाउनू दिलको बोली जीवनको परिभाषा…” र “कविता रचेर के भो सकिएन पुछ्न आँसु…” गजल प्रस्तुत गर्दै आफ्ना भावनाहरू पोख्नुभयो भने भारतबाट अलख निरञ्जल लोहारले “राम्रो मनको विचार राम्रै तला रहेछ…” शीर्षक गजल प्रस्तुत गरे। अमेरिकाबाट सहभागी खिम केसीले “आमा तिमी मात्रै आउँछौ खाए नखाएको सोध्न…” गजल सुनाएर दर्शकलाई भावविह्वल बनाए भने नेपालकै अविनाश सापकोटाले “म आफ्नै लासको भारी बिसाई दूर जाँदैछु…” गजलमार्फत मन छुने प्रस्तुति दिनुभयो।
यस्तै नेपालकै गुरुप्रसाद कुमार बुलबुलले “छोरा मान्छे हुँदैन रुन यो समाज भन्दछ…” भन्दै सामाजिक सन्देश बोकेको गजल प्रस्तुत गर्नुभयो। अमेरिकाबाट सिर्जना ढकालले “छ छानो बिना एक घर क्या अनौठो…” भन्ने गजलमार्फत दर्शकलाई आकर्षित गरिन्। नेपालबाट वसन्त वली वसन्तीले “भए भमरु जीवि कदापि हुँदैन…” गजल प्रस्तुत गरे भने कविता उपाध्यायले “बनावटी बोल्छौ प्रिय वातसँग गुनासो छ…” शीर्षक गजल सुनाइन्।
थाइल्याण्डमा बसोबास गर्ने नेपाली स्रष्टाहरू पनि यस कार्यक्रममा उतिकै सक्रिय देखिए। भिमलाल खनालले “तिम्रो लागि गजल लेख्छु बनाएर लेख्छु…” प्रस्तुत गर्दा विना ढकालले “देखेर जिन्दगीको हालत यो समाजमा…” गजल सुनाइन्। त्यस्तै रविचन्द्र अधिकारीले “सबैलाई एकताको अटुट बन्धनमा बाँधिराख्ने तिमी…” गजलमार्फत श्रोताको मन जिते।
नेपालबाट लक्ष्मी रेग्मी खनालले “लिएर माया त्यो भरपुर तिमीबाट…” गजल प्रस्तुत गर्दा सरु बस्नेतले “जूनी साथ काट्ने सहरमा तिम्रो…” गजल सुनाइन्। बेलायतबाट नृपेश उप्रेतीले भजन–गजल गायनसहित “हरपल क्षितिजमा आँखा हुनेछन्…” प्रस्तुत गरे भने थाइल्याण्डका राज पौडेलले “जीवन धान्न मामको खोजीमा छु…” र “खाए लाग्छ थाहा थियो फेरि पनि खाएँ मैले…” गजल प्रस्तुत गरी कार्यक्रमलाई बहुरंगी बनाए। अन्त्यतिर नेपालबाट सन्तोष श्रेष्ठले युवा कवि मोतिराम भट्टको प्रसिद्ध गजल “दुई त आँखीभौँ तयार छन् तरवार पो किन चाहियो…” गाएर प्रस्तुत गरे, जसले कार्यक्रममा पुरातन र आधुनिकताको सुन्दर संगम प्रस्तुत गर्यो।
थाइल्याण्ड, नेपाल, भारत, अमेरिका र बेलायतका स्रष्टाहरूको सहभागिताले “आदर्श दिव्य दर्पण” लाई अन्तर्राष्ट्रिय रंग प्रदान गरेको थियो। साहित्य मन थाइल्याण्डले यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण स्रष्टा, अतिथि, सहभागी तथा दर्शक–श्रोताप्रति हार्दिक आभार व्यक्त गरेको छ।


