काठमाडौं — नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले नेपाल सरकारले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घर्तीले यो संवाद नेपालले जलवायु परिवर्तनको चुनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उपयुक्त मञ्च भएको बताइन्। उनले शुक्रबारदेखि सुरु हुने यस संवादका लागि शुभकामना दिँदै यसले वातावरणीय संकटसँग जुधिरहेका मुलुकहरूका लागि सशक्त सन्देश दिने विश्वास व्यक्त गरिन्।
उनले भनिन् कि नेपाल अहिले जलवायु परिवर्तनको चरम स्थितिमा पुगेको छ। अत्यधिक मौसमी अनियमितताहरू, अनपेक्षित बाढी, पहिरो, खडेरी र असिनाका घटनाले देशमा प्रत्येक वर्ष ठूलो जनधनको क्षति पुर्याइरहेको छ। उनका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक संरक्षण तथ्याङ्कअनुसार, नेपालले हरेक वर्ष जलवायुजन्य विपत्तिबाट झन्डै ८३ अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्दै आएको छ।
सांसद घर्तीले विगत पाँच वर्षमा जलवायुजन्य विपत्तिबाट सहरी क्षेत्रमा २ खर्ब १८ अर्ब ८२ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिइन्। त्यस्तै, ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको घाटा भएको उल्लेख गरिन्। उनका अनुसार जलवायुजन्य घटनाहरूले न केवल आर्थिक पूर्वाधार र विकासलाई असर पारिरहेका छन्, तर जीविकोपार्जन र समुदायको दैनन्दिन जीवनमा पनि गहिरो प्रभाव पारेका छन्।
सांसद घर्तीले जलवायु परिवर्तनको प्रत्यक्ष असर देशका उच्च हिमाली भूभागहरूमा देखिन थालेको बताइन्। उनले भनिन्, “हाम्रा हिमशृंखलाहरू, विशेषगरी सगरमाथा क्षेत्र, हिउँको सेतो आवरण गुमाउँदै कालो चट्टानमा परिणत हुँदैछन्। यो केवल दृश्यात्मक परिवर्तन होइन, यो भविष्यका पानी स्रोत, वातावरणीय सन्तुलन र राष्ट्रिय पहिचानमाथिको गम्भीर खतरा हो।”
उनले वातावरणीय परिवर्तनको सामना गर्न दीर्घकालीन रणनीति, ठोस नीति र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य भएकोमा जोड दिइन्। सगरमाथा संवादजस्ता पहलहरूले जलवायु परिवर्तनमाथि गम्भीर र दिगो बहस अगाडि बढाउने उनले विश्वास व्यक्त गरिन्।


