काठमाडौँ — हिमालय एयरलाइन्सलाई आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्चालनमा हुने वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा विमानस्थलमा आफैंले सञ्चालन (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्न दिन नागरिक उड्डयन प्राधिकरणका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । यो आदेशसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५२ वर्षदेखि अन्तर्राष्ट्रिय वायुयानको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको नेपाल वायुसेवा निगमको ‘एकाधिकार’ टुट्ने भएको छ ।
ग्राउन्ड ह्यान्डलिङ सेवाअन्तर्गत यात्रु सेवा, विमान सरसफाइ, इन्धन, विमानको मर्मतसम्भार, उडान तथा यात्रु व्यवस्थापन, र्यामबस सेवा, भूमिस्थ प्रशासन तथा निरीक्षण, झिटीगुन्टा व्यवस्थापन, सामान तथा चिठीपत्र ढुवानी, यात्रुसामान व्यवस्थापन लगायत पर्छन् । यो सेवा गरेबापत हाल निगमले प्रतिजहाज तौलका आधारमा कम्तीमा ३ हजारदेखि ४५ सय डलर लिन्छ । यो रकममध्येबाट निगमले १५ प्रतिशत प्राधिकरणलाई रोयल्टी बुझाउनुपर्छ । तर सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने वायुसेवाले जहाजको तौलका आधारमा शुल्क तिर्नुपर्दैन, प्रतियात्रु १ अमेरिकी डलर रोयल्टी मात्रै तिर्दा हुन्छ ।
‘निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ वायुसेवाको भूमिस्थ सेवा गर्दै आएको छ,’ निगमका एक अधिकारीले भने, ‘यसबाट वार्षिक ४ अर्ब हाराहारीको ग्राउन्ड ह्यान्डलिङ हुन्छ । सर्वोच्चको परमादेशपछि हिमालयले आफ्ना उडानको भूमिस्थ प्रबन्ध आफैं गर्दा निगमले वार्षिक ७० करोड हाराहारी आम्दानी निगमले गुमाउनेछ ।’ यससँगै काठमाडौं, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धामार्फत ठेक्का लगाउन बाटो खुलेको छ ।