काठमाडौँ, चैत ७ गते । प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थ मन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राख्नुभएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलका क्रममा उहाँले बजेट जनतामा उत्साह गर्न सक्ने, अर्थतन्त्रलाई माथि उठाउने, मुलुकको समृद्धि गर्ने खालको र वर्तमान चुनौतीलाई सामना गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
बजेट निर्माण प्रक्रिया पारदर्शी हुनुपर्ने, व्यापक छलफल गरेर ल्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “बजेट निर्माण प्रक्रियामा सांसदहरूलाई विश्वास गर्नुस्, योजना निर्माणमा पनि सांसदका सुझावलाई ग्रहण गर्नुस् ।”
उहाँले बजेटमा अर्थ मन्त्रालयको नियन्त्रण हुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको र जनताको आवश्यकताका आधारमा बजेटको प्राथमिकता गरी नयाँ आयोजना छनोट गर्दा उत्पादकत्व, जनतालाई लाभ दिने खालको हुनुपर्ने उहाँको भनाइ थियो ।
नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठ्ने र मुलुकको विकास हुने खालको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मधेस-प्रदेश विकासमा पछाडि परेको हुँदा सरकारले विशेष विकासको प्याकेज दिनुपर्ने माग गर्नुभयो । उहाँले वीरगञ्जमा बन्द रहेको चिनी कारखाना सञ्चालन गर्नुपर्ने, कृषि औजार कारखानालाई अगाडि बढाउनुपर्ने, जनकपुर चुरोट कारखाना चलाउन सरकारको योजनाका बारेमा बजेटले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।