वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको उद्धारका नाममा भइरहेको चरम आर्थिक शोषणबारे थाइल्याण्ड नेपाल डट कमले लगातार समाचार सार्वजनिक गरे पनि सम्बन्धित निकायहरू मौन रहनुले गम्भीर आशंका उब्जाएको छ। बैंककस्थित नेपाली राजदूतावास र एनआरएनए (NRNA) कम्बोडियाको यो रहस्यमय मौनताले ठगी गर्नेहरूलाई थप प्रोत्साहन मात्र मिलेको छैन, यसले एउटा डरलाग्दो संगठित अपराधलाई समेत लुकाउन खोजेको देखिन्छ।

प्राप्त नयाँ सरकारी कागजातहरू अनुसार उद्धारको मुख्य ‘सहजीकरण’ गरिरहेका एनआरएनए कम्बोडियाका उपाध्यक्ष रामजी कुमार क्षेत्री र उनकी श्रीमती रक्षा न्यौपाने नेपालमा वैदेशिक रोजगार ठगी मुद्दाका ‘फरार अभियुक्त’ हुन्। वैदेशिक रोजगार विभागको च.नं. ४८८२ र ५०१० का आधिकारिक पत्रहरूले क्षेत्री र न्यौपाने विरुद्ध पक्राउ अनुमति (Arrest Warrant) जारी भइसकेको र उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर उपस्थित गराउन प्रहरीलाई आदेश दिइसकेको पुष्टि गर्दछन्।

चन्द्र बहादुर थापा लगायतका पीडितहरूले २८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै उनीहरू विरुद्ध वैदेशिक रोजगार सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएपछि विभागले निजहरूको बैंक खाता समेत रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ। यस्तो गम्भीर आपराधिक पृष्ठभूमि भएका र नेपाल प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिहरूलाई दूतावासले कुन आधारमा ‘आधिकारिक सम्पर्क व्यक्ति’ तोकेर पत्र जारी गर्‍यो भन्ने विषयले सरकारी संयन्त्रभित्रको ठूलो ‘सेटिङ’ तर्फ संकेत गरेको छ।

दूतावासकै पत्रलाई विश्वासको मुख्य हतियार बनाएर उपाध्यक्ष क्षेत्रीले अहिले पनि कम्बोडियामा रहेका नेपालीहरूबाट हवाई टिकट र सहजीकरणको नाममा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म आफ्नो व्यक्तिगत मुक्तिनाथ विकास बैंकको खातामा जम्मा गर्न लगाइरहेका छन्। लगातार समाचार सार्वजनिक हुँदा र पीडितहरूले प्रमाणसहित गुनासो गर्दा समेत दूतावासले आफ्नो पत्र खारेज नगर्नु र एनआरएनएले आफ्नो विवादास्पद पदाधिकारीलाई पदमुक्त नगर्नुले यस प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आशंकालाई बल पुगेको छ।

क्षेत्रीले पहिले पोखरामा ‘बुद्ध अंकोर टुर्स एण्ड ट्राभल्स प्रा.लि.’ मार्फत लाखौँ ठगी गरेको र अहिले कम्बोडियामा ‘उद्धार’ को मुकुण्डो लगाएर त्यही धन्दा दोहोर्याइरहेको स्पष्ट देखिएको छ। सरकारी कागजातले उनीहरूलाई अभियुक्त घोषणा गरिसक्दा पनि दूतावास र एनआरएनएले मौन समर्थन दिनुले विदेशमा रहेका र अप्ठ्यारोमा परेका नेपालीहरूको सुरक्षामाथि नै गम्भीर विश्वासघात भएको छ।

थाइल्याण्ड नेपाल डट कम आफ्नो अडानमा स्पष्ट छ कि जबसम्म यी अभियुक्तहरू कानुनी कठघरामा आउँदैनन् र दूतावासले आफ्नो गल्ती सच्याउँदैन, यो खबरदारी रोकिने छैन। अब परराष्ट्र मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले यस ‘उद्धार घोटाला’ माथि तत्काल हस्तक्षेप गरी छानबिन गर्न ढिलाइ गर्नु हुँदैन।

सेयर: 30
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
33%
4 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ