दाङ । भोली शनिवार हुने तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनकालागि सरगर्मी बढेको छ । दुई वटा ब्यापारिक समूहबीच चुनाबी प्रतिस्पर्धा हुने देखिन्छ । ती ब्यबसायीहरुले राजनीतिक दलहरुको प्रत्येक्ष आवरण पाएका छन् । काँग्रेसले संघका महासचिब विनिल केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
तर, त्यो उम्मेदवारीका विरुद्ध काँग्र्रेसका ललितजंग शाहले अर्को प्यानल बनाए । जसलाई तुलसीपुरमा क्रियाशिल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चालगायत राजनीतिक दलले समर्थन जनाएका छन् । उक्त प्यानललाई काँग्रेसको एक खेमाले पूर्ण रुपमा समर्थन गरेको देखिन्छ । संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु पनि त्यही खेमामा छन् । उनीहरु दुबै उम्मेदवारहरु अहिले ब्यबसायीहरुको घरदैलोमा गइरहेका छन् । उनीहरुले आ–आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका छन् ।
ललितजंग शाह नेतृत्वको प्यानलले पारिवारिक घेरा तोड्न आफ्नो उम्मेदवारी भएको बताउँदै आएका छन् ।“उद्योग बाणिज्यघमा सिन्डिकेट भयो, परिवारको घेरामा छ”,उनले भने“यसलाई तोड्न पनि मेरो उम्मेदवारी रहेको हो ।” आफूले मात्रै सबै ब्यबसायीहरुको भावना समेट्न सक्ने शाहको भनाई छ । त्यस्तै विनिल केसीको प्यानलले भने आफू युवा भएकाले अब युवाले नै ब्यबसायीहरुको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन् ।“युवा नेतृत्व नै उद्योग बाणिज्य संघमा आबश्यकता हो”,उनले भने“त्यसैले म आएँ भने ब्यबसायीहरुको हक हितलाई सम्बोधन गर्छु ।”
कसले जित्ला ?
दुबै उम्मेदवारले आ–आफ्नै जित्ने आधार प्रस्तुत गर्छन् । शाहले काँग्रेसका आधा जति मत आफूलाई आउने दावी गर्छन् । त्यसमा एमाले, माओवादी केन्द्रसहित गठबन्धनमा समावेश भएका दलहरुको मत थप हुँदा सजिलै जित्न सक्ने दावी पेश गर्छन् । अर्को आधार भनेको ‘रिजाल’ परिवारबाट सधै नेतृत्वमा रहदा त्यसले ब्यबसायीमा राम्रो सन्देश नगएकाले त्यसप्रति असन्तुष्टि राख्ने मतहरु आफूलाई आउने सक्ने आँकलन गर्छन् । काँग्रेसमा प्रष्ट दुई खेमाकै लडाई देखिएको छ । देखिएर होस्, वा नदेखिएर होस्, काँग्रेसकै नेताहरुले सहयोग आफूले पाएको शाहको अनुभूति छ ।
काँग्रेसकै नेताहरुले हस्ताक्षर गरेको अपील समेत सार्वजनिक गरिएकाले पनि त्यसले पनि काँग्रेसकै नेताहरुको पनि सहयोग भएको प्रमाणित हुने उनी बताउछन् । अर्को तर्फ दुई पटक उपाध्यक्ष भइसकेका ललितलाई अहिले अध्यक्ष पाउनु दिनुपर्ने थियो, भन्ने खालको मनोविज्ञान पनि तयार भएको छ ।
केसीले आफू युवा भएकाले युवाहरुप्रति नै मतदाता केन्द्रित हुन सक्ने आँकलन गर्छन् । महासचिब भएर कार्यकाल पूरा गरेकाले स्वभाविक रुपमै अध्यक्षमा आफूलाई मत आउन सक्ने उनको आँकलन छ । ब्यक्तिगत स्वभाब, आफूले गरेका गतिबिधि, भद्र भलादमी स्वभाबले पनि प्रभाब पार्न सक्ने केसी समूहको आँकलन छ । दुबैले आ–आफ्ना मतदाता बनाएका छन् । उनीहरु दुबै पक्षले धेरै मतदाताको आफ्नै सम्पर्क नम्बर राखि आफैले नै ब्यबसाय दर्ता गरिदिएको देखिन्छ । पहिचान नभएका तर, ब्यबसाय दर्ता गरेका धेरै जनाको नामावलीमा समावेश छ ।
मतदाता भन्छन –‘हाम्रो रोजाइ संयुक्त व्यवसायी प्यानल नै हो ’
तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचनको रौनक बढ्दै गएको छ । मत आफ्नो पक्षमा पार्नका लागि ललित जंग शाह अध्यक्ष रहेको संयुक्त व्यवसायीको प्यानलले चुनावी प्रचारलाई व्यापक बनाएको छ । पूर्वमा दुधरासदेखि पश्चिममा हंसपुरसम्म मत माग्न संयुक्त व्यवसायीको प्यानल दौडधुप रहेको चुनाव प्रचार प्रसार समितिका संयोजक मिनराज वलीले जानकारी दिनुभयो ।
बिहानैदेखि राती अवेरसम्म मतदाता भेट्घाटको क्रममा रहेको संयुक्त व्यवसायीको प्यानललाई मतदाताले भेट्दा खुशी छन् । बिहिबार आज बिहान तुलसीपुरको ‘ङ’ लाइनसहित पिपलबोट, अस्पताल रोड लगायतका ठाउँमा मतादातासंग भेटघाट गरेपछि मतादाता हौसला थपेको छ । भेटघाटको क्रममा मतदाताले भने–‘हामीलाई खोजेको नेतृत्व संयुक्त व्यवसायी प्यानलमै छ, किनभने सबैका विचार अट्ने यहि प्यानल हो ।’ मतादाता भेटघाट अभियान तिब्र बनेको अध्यक्ष पदका उमेदवार ललित जंग शाहले बताउनुभयो ।
निर्वाचनको मिति नजिकिदै जाँदा कतिपय मतदाताले फोनबाटै मतदानका लागि प्रतिवद्धता जनाउने गरेको उहाँको भनाई छ । ‘हामी सबै मतदाताको घरमा पुग्ने कोशिस गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो–‘कतिपय मतदाताले हामीलाई फोन गरेर तपाईहरु घरमा आउनुपर्दैन, हाम्रोतर्फबाट संयुक्त व्यवसायी प्यानललाई मतदान हुन्छ ।’
संघको बैशाख २९ गते हुने निर्वाचनमा आम मतदाता संयुक्त प्यानलको पक्षमा रहेको महासचिव पदका उमेदवार नरेन्द्र कुमार डाँगी (नरेश)ले बताउनुभयो । ‘भेटघाटको क्रममा मतदाताको उत्साह निकै छ ।’ उहाँले भन्नुभयो–‘मतदाताको उत्साहले हामी पनि उत्साह भएका छौँ ।’