बैंकक— थाइल्यान्डका राजा महा वजिरालोङ्कोर्नकी आमा तथा पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ। थाई शाही राजदरबार ब्युरोका अनुसार उहाँको निधन शुक्रबार राति ९:२१ बजे बैंककस्थित सिरिराज अस्पतालमा भएको हो।
शाही दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सन् २०१९ देखि अस्पतालमा उपचाररत रहनुभएकी महारानी सिरिकितलाई हालैको महिनामा रक्त संक्रमणसहित विभिन्न स्वास्थ्य समस्याहरूले सताएको थियो। उहाँको स्वास्थ्य अवस्था विगत दशकदेखि कमजोर रहँदै आएको थियो।
महारानी सिरिकित थाईल्यान्डका सबैभन्दा लामो समय शासन गर्ने राजा भूमिबोल अदुल्यादेजकी पत्नी हुनुहुन्थ्यो। सन् १९५० मा विवाह गरेपछि उहाँले ६ दशकभन्दा बढी समयसम्म शाही जीवन बिताउनुभयो। राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उहाँ रानी आमाको हैसियतमा रहनुभएको थियो।
राजा वजिरालोङ्कोर्नले शाही राजदरबार ब्युरोलाई राजकीय अन्त्येष्टि समारोहको आयोजना गर्न आदेश दिनुभएको छ। दरबारका अनुसार, महारानी सिरिकितको पार्थिव शरीर बैंककको ग्रान्ड प्यालेसस्थित दुसित थ्रोन हलमा राखिनेछ, जहाँ शाही परिवारका सदस्यहरूले एक वर्षसम्म शोक मनाउनेछन्। नागरिकहरूलाई पनि श्रद्धाञ्जली अर्पण गर्न अनुमति दिइने अपेक्षा गरिएको छ।
प्रेमकथा: पेरिसमा सुरु भएको सम्बन्ध
महारानी सिरिकितले आफ्ना पति राजा भूमिबोललाई पेरिसमा संगीत अध्ययन गर्ने क्रममा भेटेकी थिइन्। त्यस समय उनका पिता फ्रान्सका लागि थाइल्यान्डका राजदूत थिए। सन् १९८० मा बीबीसीले तयार गरेको वृत्तचित्र Soul of a Nation मा सिरिकितले राजासँगको पहिलो भेटबारे अनुभव सुनाउँदै भनेकी थिइन्, “पहिलो नजरमै मलाई उहाँ मन परेन।”
उहाँले राजा भूमिबोल पहिलो भेटमा ढिलो आएको स्मरण गर्दै भनेकी थिइन्, “उहाँले दिउँसो चार बजे आइपुग्छु भन्नुभएको थियो, तर सात बजे मात्र आइपुग्नुभयो। म भने कुर्सीमा बस्दै पटक–पटक झुकेर सम्मान गर्ने अभ्यास गरिरहेकी थिएँ।”
राजा भूमिबोलको राज्याभिषेक हुनुभन्दा एक हप्ता अगाडि, सन् १९५० अप्रिल २८ मा यो जोडीले विवाह गरेको थियो। विवाहपछि महारानी सिरिकितले शाही जीवनमा सक्रिय भूमिका निर्वाह गर्न थाल्नुभयो।
अन्तर्राष्ट्रिय छवि र सांस्कृतिक योगदान
सन् १९६० को दशकमा महारानी सिरिकित र राजा भूमिबोलले संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोप तथा एशियाका विभिन्न देशहरूमा भ्रमण गरे। भ्रमणका क्रममा उनीहरूले अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनहावर, ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीय तथा सांगीतिक आइकन एल्भिस प्रेस्लीलाई समेत भेटेका थिए।
त्यो दशकभरि महारानी सिरिकित अन्तर्राष्ट्रिय ‘बेस्ट ड्रेस्ड लिस्ट’ मा नियमित रूपमा चित्रित हुन्थिन्। उहाँको फेसन शैली, परम्परागत थाई पोशाकको प्रवर्द्धन तथा सांस्कृतिक पहिचानको संरक्षणमा उल्लेखनीय योगदान रहेको थियो।
उहाँले ग्रामीण विकास, महिला सशक्तिकरण, हस्तकला संरक्षण तथा वातावरणीय अभियानहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। थाई समाजमा उहाँको योगदान आज पनि स्मरणीय छ।
श्रद्धाञ्जली
थाईल्यान्ड नेपाल डट कम परिवार र सम्पूर्ण नेपाली समुदायको तर्फबाट हामी दिवंगत पूर्वमहारानी सिरिकितप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँको योगदान, व्यक्तित्व र स्मृति सधैं थाई जनताको मनमा जीवित रहनेछ।


