बैंकक, थाइल्याण्ड – थाइल्याण्डको राजधानी बैंककस्थित त्रिनाथ देवालय मन्दिरमा यस वर्षको घटस्थापना विधिपूर्वक सम्पन्न गरिएको छ। नेपाली समुदायको सक्रिय सहभागितासहित सुरु भएको यस धार्मिक अनुष्ठानलाई दशैंको अघिल्लो दिनसम्म निरन्तर पूजा–पाठ, भजन–कीर्तन र विशेष धार्मिक कार्यक्रममार्फत जारी राखिनेछ।
आइतबार बिहान परम्परागत ढोल–नगारा, कलश यात्रासहित महिलाहरूले शिरमा पवित्र कलश बोकेर देवालय प्राङ्गणमा प्रवेश गरी घटस्थापना गरिएको थियो। कार्यक्रममा उपस्थित भक्तजनहरूले विधिपूर्वक जमरा रोपण गरे र देवी दुर्गाको पूजा आराधना प्रारम्भ भयो।
मन्दिरभित्र सजाइएको दुर्गा माताको दरबार फूलमालाले झकिझकाउ बनाइएको थियो भने विभिन्न प्रकारका प्रसाद, फलफूल र धूप–दीपसहितको भव्य सजावटले वातावरणलाई धार्मिक आस्थाले परिपूर्ण बनाएको थियो।
थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरूले दशैंलाई मातृभूमिको झल्को दिलाउने ठूलो पर्वका रूपमा मनाउने परम्परा कायम गर्दै आएका छन्। यसपटकको घटस्थापनामा पनि बालबालिकादेखि वृद्धसम्म सबैको उत्साहपूर्ण सहभागिता देखिएको थियो।
देवालय व्यवस्थापन समितिले घटस्थापनादेखि विजया दशमी अघिल्लो दिनसम्म निरन्तर पूजा–पाठ सञ्चालन हुने जानकारी दिंदै सबै श्रद्धालु नेपालीलाई उपस्थित भई आशीर्वाद लिन आह्वान गरेको छ।
यसरी बैंककस्थित त्रिनाथ देवालय मन्दिरमा सुरु भएको घटस्थापनाले प्रवासी नेपाली समुदायबीच आपसी एकता, धार्मिक आस्था र सांस्कृतिक सम्पदाप्रतिको प्रतिबद्धतालाई झनै बलियो बनाएको छ।


