काठमाडौं, १८ साउन
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद विराजभक्त श्रेष्ठले जर्मनीमा आयोजना हुने जी-क्याप फोरममा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
आगामी ५-९ अगस्टमा जर्मनीको बोनमा ग्लोबल चेन्जमेकर एकेडेमी फर पार्लियामेन्टेरियन्स (जी-क्याप) फोरकम आयोजना हुँदैछ । सांसद श्रेष्ठ यो कार्यक्रममा सहभागिताका लागि आइतबार जर्मनी प्रस्थान गर्नेछन् ।
भूसंरक्षण, भूमिको भोग र पुनरोत्थानका लागि संसारभरका सांसदहरुसँग बहस गर्ने उद्देश्य रहेको कार्यक्रमको आयोजना संयुक्त राष्ट्रसंघीय यूएनएसएससीको सहकार्यमा र यूएनसीसीडीको जी२० ल्यान्ड इनिसिएटिभले आयोजना गरेको हो ।
‘यो कार्यक्रमले विश्वभरका विभिन्न देशका ५० संसद सदस्यहरुलाई वातावरण संरक्षणका लागि नयाँ विचार र नीति निर्माणमा सहकार्य गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ,’ श्रेष्ठले भनेका छन्, ‘मेरो राजनीतिक यात्राको सुरुवात देखि नै वातावरण संरक्षण प्रमुख राजनीतिक एजेन्डा हो र विश्वभरमै ५० जनामा छनोट भएर येस कार्यक्रममा सहभागी हुन पाउने अवसर पायेकोमा म आभारी छु ।’
आयोजक जी२० ग्लोबल ल्याण्ड इनिसियटिभकाअनुसार पाँच दिने सम्मेलनमा सहभागी सांसदहरूलाई भूमि पुनर्स्थापना र संरक्षण एजेन्डामा सोच्ने नेतृत्वको लागि उजागर गरिनेछ । प्रसिद्ध भूमि विशेषज्ञहरू र संयुक्त राष्ट्र संघका वरिष्ठ नेतृत्वहरूको मास्टर क्लासहरू पनि हुनेछन् ।
संवाददाता






