भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढेको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले दलहरूले पुरानै शैलीमा शासन गर्न खोजेमा सङ्घीयता असफल हुने खतरा निम्तिने बताउनुभयो । उहाँले प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निराशा छाएको बताउनुभयो ।
उहाँले प्रदेशका मुख्यमन्त्रीहरू जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूल्ठूला भवनहरू निर्माणमा आफ्नो समय खर्चिरहेको आरोप समेत लगाउनुभयो ।
बिजुक्छेले जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण लगायत नयाँ नयाँ क्षेत्रमा विकास गर्न सके देशलाई नै फाइदा पुग्ने बताउनुभयो । उहाँले भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।