Ad imageAd image

विद्यालयको दिवा खाजामा कोदोको दुनोट

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

म्याग्दी, ११ जेठ : म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।

चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका विद्यालयले जनाएका छन् । स्थानीय तहहरुले अभिभावक र चमेनागृह सञ्चालकलाई आयात गरिएको तयारी पत्रुखाना ‘जङ्क फुड’को विकल्पमा रैथाने बालीका खाद्यान्नबाट परिकार बनाउने तालिम दिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले विद्यालयमा ‘जङ्क फुड’ निषेध गर्नका लागि १, २, ३ र ६ नम्बर वडाका अभिभावकलाई रैथाने बालीबाट खाजाको परिकार बनाउने सीप सिकाएको जानकारी दिनुभयो । “अभिभावक र विद्यालयको चमेनागृहका सञ्चालकलाई पोषणयुक्त खाजा बनाउने ज्ञान र सीप सिकाउन बाँकी चार वटा वडामा पनि तालिम चलाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “आयातित अस्वस्थ्कर जङ्क फुडको विकल्पमा रैथाने खाद्यवस्तुबाट परिकारको प्रयोगमा जोड दिएका छौँ ।” बेनी नगरपालिकाको कृषि शाखाले विद्यालयका २० जना चमेनागृह सञ्चालकलाई गत हप्ता रैथाने बालीका परिकार बनाउने तालिम प्रदान गरेको छ । कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सीलगायतका रैथाने बालीबाट खाजाका परिकार बनाउने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सीप प्रदान गरिएको बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो ।

जङ्कफुड प्याकिङ गर्ने प्लास्टिकले विद्यालय परिसर फोहर र विद्यार्थीको स्वास्थ्यमा असर परेको छ । धौलागिरि गाउँपालिका–३ मा रहेको धौलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरकफरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेको बताउनुभयो । “अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिकानै बनाएका छौँ”, उहाँले भन्नुभयो, “खर्चको पनि बचत भएको छ ।” सरकारले प्रतिविद्यार्थी रु १५ का दरले दिवा खाजाका लागि अनुदान दिने गरेको छ । बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालय परिसरको खाली जमिनमा तरकारी खेती गरेको प्रअ रामप्रसाद शर्माले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले अस्वस्थकर परिकारको प्रयोग घटाउन र रैथाने बालीका खाद्यान्न परिकारमा जोड दिएको बताउनुभयो । विद्यालयलाई ‘जङ्क फुड’ निषेधित क्षेत्र बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
57%
5 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ