काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मङ्गलबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।
खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । सम्पूर्ण पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन, विभागहरु गरी नौ समूहमा आजबाट छलफल प्रारम्भ हुने बताउनु भयो ।