काठमाडौं । त्रिभूवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस भएका प्राध्यापक डा.केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
त्रिविलाई राजनीतिक भाग बण्डाबाट अलग बनाउने प्रतिवद्धता जनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले अन्ततःदोस्रो नम्बरमा रहेका प्रा.डा.बराललाई उपकुलपतिमा नियुक्त गरेपछि अहिले सामाजिक सञ्जालमा त्यसको विरोध सुरुभएको हो ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले एक नम्बरमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, दोस्रामा प्रा.डा. केशरजंग बराल र तेस्रोमा प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
खुला प्रतिस्पर्धाबाट छनौट भइ सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरका बुढाथोकी नियुक्त हुनुपर्नेमा दोस्रो नम्बरमा सिफारिस भएका बराललाई प्रधानमन्त्री दाहालले नियुक्त गरेका हुन ।
को हुन प्राध्यापक डा.बराल ?
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भए ।
पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए र उनले विद्यावारिधिको अध्ययन सकाएर फिर्किए । भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए ।
त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे । यसअघि २०६४ सालमा उनि पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भइ काम गरेका थिए ।
२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड सदस्य पनि भएर काम गरेको अनुभव छ । सरकारले शिक्षाको विकासकालागि बनाउने विभिन्न समितिमा रहेर काम गरेको उनिसँग अनुभव ।